काठमाडौँ । क्यान्सरबारे सचेतना फैलाउन आगामी असोज २४ गते ‘सर्भाइबर मिट–२०२०’ शीर्षकमा भर्चुअल कार्यक्रम हुने भएको छ । नेपाल क्यान्सर सर्भाइबर्स सोसाइटीको आयोजनामा सो कार्यक्रम हुने भएको छ ।
असोज १९ गते सो संस्थाकी अध्यक्ष प्रमिता खनालले प्रेसविज्ञप्ती जारी गर्दै सो जानकारी दिनुभएको हो । उक्त भर्चुअल कार्यक्रम असोज २४ गते दिउसो ३ बजेदेखि सुरु हुने विज्ञप्तीमा बताइएको छ । कार्यक्रममा विशेषज्ञ डाक्टरहरूको समेत उपस्थिति रहने छ ।
यसबारे सो संस्थाकी कोषाध्यक्ष बिनु केसीले अक्टोबर महिना ब्रेस्ट क्यान्सरसम्बन्धी सचेतना अभियान चलाउने महिना भएको जानकारी दिनुभयो ।
उहाँले नेपाल क्यान्सर सरभाइबर्स सोसाइटी क्यान्सर विजेता दिदीबहिनीद्वारा स्थापित गैरनाफामूलक संस्था भएको पनि बताउनुभयो । १२ वर्षअगाडिदेखि क्यान्सर सचेतनाको क्षेत्रमा जोडिएको भएता पनि विगत ४ वर्षदेखि विधिवत संस्थागत प्रकारले सञ्चालनमा आएको उहाँले थप्नुभयो ।
त्यसैगरी, योगले क्यान्सरको उपचारमा सहयोग पुग्ने बताउँदै कोषाध्यक्ष केसीले योगप्रेमी परिवार नेपालसँग सहकार्य भइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्यान्सर रोगसित विजय प्राप्त गर्न योग र ध्यानको पनि विशेष महत्त्व हुन्छ । योग र ध्यानले हाम्रो जीवनशैलीमा नै परिवर्तन गर्न विशेष भूमिका खेल्दछ । यो विषयलाई गम्भीर रूपमा लिँदै हामी योगप्रेमी परिवार नेपालसँग सहकार्य गर्दै आएका छौँ ।’

