टेकराज भुसाल, बुटवल ।
रुपन्देहीका उद्योगी व्यवसायी संघसंस्थाको आह्वानमा बुटवलको राजमार्ग चौराहबाट विरोध प्रदर्शन भएको छ । ‘प्रदेश राजधानी बुटवलमा कायम गर’ जनताको मत कदर गर’ भन्ने नारासहित आइतबार बिहानैबाट प्रदर्शन गरिएको हो ।
बुटवलको ट्राफिक चोकमा गरिएको कोणसभामा बोल्दै उद्योगी व्यवसायीका नेताहरुले लुम्बिनी क्षेत्रका सांसदहरुलाई ‘हुतियारा’ भन्दै कडा आलोचना गरेका छन् । रुपन्देहीलाई राजधानी बनाउने भन्दै चुनावमा मत लिएर पूर्वाधार नै नभएको स्थानमा राजधानी तोकिएको भन्दै उनीहरुले सरकारको आलोचनासमेत गरे ।
प्रदेश ५ सरकारले दाङको भालुवाङ क्षेत्रमा प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरेपछि बुटवल शुक्रबारदेखि तनावग्रस्त भएको छ । विपक्षी कांग्रेसले विरोध प्रदर्शनलाई चर्काउने निर्णय गरेको छ ।
कांग्रेस भातृ संगठनहरुले आन्दोलनका क्रममा सरकारी गाडीमा तोडफोड र यातायात अवरोध गरेपछि प्रशासनले आज विहानैदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । तर, निषेधाज्ञा तोड्दै व्यवसायीले प्रदर्शन सुरु गरेका हुन् ।
आन्दोलन चर्कने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही क्षेत्रमा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको शनिबार साँझ एक सूचनामार्फत जनाएको छ ।
यता, प्रतिपक्षी नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन प्रभावित भएका छन् ।
यो पनिः आन्दोलन चर्किंदै गएपछि बुटवलमा निषेधाज्ञा जारी

