पुष्कर भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिका–१३ वडैपुर, चनापुरमा राँगाको मासु खाँदा १४ जना बिरामी परेका छन् । बुधबार स्थानीय वगला चधारोले राँगाको मासु काटेर गाउँमा बिक्री गरेका थिए ।
बिरामीहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमा ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने जस्ता लक्षणहरू देखिएको छ ।
राँगाको मासु खाएर फुड पोइजन भएको उपचारमा संलग्न डा. ज्योति धामीले जानकारी दिनुभयो । मासु खाएको १२-१४ घण्टापछि फुड पोइजन देखिएको थियो ।
अस्पतालका अहेव गंगाराज भट्टका अनुसार बिरामी हुनेमा बालबालिका, युवा, वृद्ध तथा गर्भवती महिलासमेत छन् । अहिले बिरामीको अवस्था सामान्य रहेको छ ।
मासु बिक्री गर्ने स्थानीय ५५ वर्षीय वगला चधारोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले चधारोलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

