काठमाडौं । भक्तपुरमा दुई व्यक्तिले डलर देखाएर पाँच लाख रुपैयाँ लुटेका छन् । प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा ५ लाख रुपैंयाँ लुटपाट गरी फरार भएका थिए ।
डलर साट्ने भनि कागजको विटो प्लाष्टिकमा राखेर रुमालमा पोको पारी दिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाट गर्ने ती दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन । प्रहरीले उनीहरुको साथबाट ३ लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल २ थान, २२० सीसीको पल्सर मोटरसाइकल १ थान र पर्स २ थान समेत बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।
गत साउनदेखि डलर साट्ने बहानामा यहाँ लुटपाट भएको यो छैंठौँ घटना हो । सस्तो दरमा डलर साट्ने बहानामा गत साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा ३ लाख, वडा न ५ मा साउन १९ गते ४ लाख, वडा २ मा गत भदौ ३१ गते ५ लाख, वडा ९ बोडेमा यही असोज ६ गते ९ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।