काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार १९ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेका संख्या ५३ हजार १५ पुगेको छ ।
काठमाडौँका ५८३ सहित उपत्यकामा थपिए ७२४
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप ८ जनाको मृत्यु
त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका २, ललितपुर, भक्तपुर, मकवानपुर, सप्तरी, रुपन्देही र कैलालीका १/१ जना रहेका छन् ।

