बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजिखोलका बाढीपीडितलाई जापान नेपाली एकता समाजले राहत सहयोग गरेको छ । जापान नेपाली एकता समाज टोकियो क्षत्रीय समितिको पहलमा राहत संकलन गरी नेपाल पठाइएको हो ।
एकता समाजले पठाएको राहत रकम आइतबार राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य गौरिश्वर पाण्डेको नेतृत्वमा घटनास्थल पुगेको टोलीले पीडितलाई हस्तान्तरण गरेको छ ।
बाढीबाट मृत्यु तथा बेपत्ता भएका ३७ जनाको २२ परिवारलाई नगद चार हजारका दरले र बिस्थापित ७७ घर परिवारलाई दुई हजारका दरले राहत रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा राजमोको तर्फबाट ढोरपाटन नगरपालिका –७ का निर्वाचित वडा अध्यक्ष एवं राजमो नगर अध्यक्ष दिपक थापा, राजमो जिल्ला सदस्य धन बहादुर अदै, राजमोका तर्फबाट ढोरपाटन नगरपालिका–२ मा निर्वाचित वडा अध्यक्ष युवराज महत, राजमो जिल्ला सदस्य दुर्गादेवी घर्ती, युवा नेता जीवन घर्ती लगाएतको उपस्थिति थियो ।
गत भदौ १७ गते राति भुजिखोलामा आएको बाढीबाट सो क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो ।