काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ । रानीपोखरीमा विगतमा जस्तै सुन्दरीजलको स्वच्छ पानी हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसाररानीपोखरीमा २ करोड लिटर पानी हालिएको हो ।
मेलम्चीको खानेपानी पाइप लाइनबाट सुन्दरीजलकै पानी भर्ने काम भइरहेको ज्ञवालीले बताउनुभयो ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरका रूपमा निर्माण भएको रानीपोखरी सुन्दर र मनमोहक देखिएको छ । भूकम्पले क्षति पुर्याएको रानीपोखरी अहिले पुनर्निर्माण अन्तिम चरणमा पुगेको ज्ञवालीले जानकारी दिनुभयो ।
रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ। जसको ९ फिट गहिराइमा पानी भरिएको हो । बालगोपालेश्वर मन्दिर प्रताप मल्लका पालामा बनेको शैलीमा बनाइएको छ । रानीपोखरीको स्वरूप, प्रविधि र संरचना पनि प्राचीनकालकै रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार प्राचीन स्वरूपका इँटा नै प्रयोग गरिएका छन् । पुरानै शैली, पुरानै समाग्री, पुरानै प्रक्रिया र शैलीमा रानीपोखरी निर्माण गरिएको ज्ञवालीको दाबी छ।
एक सातापछि रानीपोखरी पुर्निर्माणका सबै काम सम्पन्न हुने अनुमान छ । विशेष सांस्कृतिक पर्वसँगै रानीपोखरीको उद्घाटन गरिनेछ ।
सुरुमा रानीपोखरी कंक्रिटले बनाइएको भन्दै आलोचना भए तापनि त्यसलाई सच्याउँदै विज्ञ, सरोकारवाला, संरक्षणविदको सल्लाहमा प्राचीनता जोगाउने गरी निर्माण गरिएको हो ।
यस्तै, प्राधिकरणले हालै धरहराको १४ औँ तला ढलान सम्पन्न गरेको छ । गजुरसहितको २२ तले धरहराको उचाइ करिब ७७ मिटर हुनेछ ।





