प्रकाश थापा मगर
काठमाडौँ । महिला किसानका समस्यालाई लिएर अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । “महिला किसानका समस्या र समाधान” विषयक सो कार्यक्रम २०७७ असोज ३ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
किसान महासङ्घकी केन्द्रीय सदस्य सावित्रा ढकालको अध्यक्षता तथा सङ्गठनको तर्फबाट आधारपत्र प्रस्तुत गरेलगत्तै कार्यक्रम अगाडि बढेको थियो । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गुल्मी कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो । ऋतु केसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्राथमिकताका साथ देशका विभिन्न सङ्घगठनका प्रतिनिधि महिला नेतृहरूले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल किसान महासङ्घकी माया गौतम केसीले सरकारले कृषिनीति बनाउँदा देशमा महिला कृषकहरू नै छैनन् जस्तो गरी व्यवहार गरिरहेको बताउनुभयो । उहाँले नीतिनिर्माणमा महिला सहभागिताप्रति ध्यान दिन सरकारसित आग्रह गर्नुभयो ।
नेपाल किसान सङ्घकी गङ्गा अवालले जिल्ला कृषि कार्यालय नहुँदा किसानको समस्या राख्ने प्रभावशाली निकाय नभएको बताउनुभयो । उहाँले स्थानीयतहले स्थानीय किसानको समस्या सम्बोधन गर्न नसकिरहेको बताउनुभयो ।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की उर्मिला मल्लले दलाल तथा बिचौलियाका कारण नेपाली किसानहरू पीडित भएको बताउनुभयो । गरिमाधानले पारेको क्षतिको प्रसङ्ग उठाउँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको थियो ।
अखिल नेपाल किसान यूनियनकी सीता सुवेदीले वैदेशिक रोजगारीका कारण नेपाली कृषिमा महिलामाथि अत्यधिक भार परिरहेको, तर त्यसले गर्दा गैरकृषि क्षेत्रमा उनीहरूको भूमिका कमजोर हुँदै गइरहेको बताउनुभयो ।
प्रतिनिधि सभाकी सांसद विमला विकले कृषिमा अत्यधिक काम गरे पनि नेपाली महिलाहरूको भूमिमाथि स्वामित्व नभएको बताउनुभयो । उहाँले हिँजो निर्वाहमुखी कृषि हुँदा महिलाले कडा मिहिनेत गर्नुपरेको तर अब कृषिले विस्तारै व्यावसायिकतातिर अघि बढ्दै गर्दा उनीहरूको भूमिका झन् कमजोर हुँदै गएको बताउनुभयो ।
अखिल नेपाल प्रगतिशील किसान सङ्घकी लीलामाया पौडेलले राजनीतिक दलहरूले महिला कृषकका समस्या सम्बोधन गर्नका लागि गम्भीर पहलकदमी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले कृषिक्षेत्रमा सबैभन्दा बढी सामाजिक विभेद भएको बताउँदै त्यसलाई अन्त गर्नका लागि समाजको सबै क्षेत्रमा महिला समानता आवश्यक रहेको बताउनुभयो ।
अखिल नेपाल किसान महासङ्घकी सीमा रिजालले महिलाको कदर नहुने नेपाली समाजको यो निन्दनीय प्रवृत्ति कृषिक्षेत्रमा छरप्रष्ट रूपमा देख्न सकिने बताउनुभयो ।
अखिल नेपाल किसान महासङ्घकी सरिता भुसालले महिलाहरू गरिब भएको नै सामाजिक असमानताले गर्दा हो भन्ने धारणा व्यक्त गर्नुभयो ।
कृषि समूह महासङ्घकी अम्बिका अधिकारीले कृषिक्षेत्रको व्यवसायीकरणले कृषक महिलालाई समेट्न नसकेको गुनासो गर्नुभयो ।
प्रदेश नं. ५ मा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले महिलामाथिको सामाजिक विभेद अन्त गर्ने दायित्व राज्यपक्षको नै रहेको ठोकुवा गर्नुभयो ।
नेपाल किसान महासङ्घकी भगवती काफ्लेले कृषि सूचना केन्द्रद्वारा वितरण गरिने सूचना कृषक महिलासम्म पुग्नै नसकेको दावी गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र राष्ट्रिय किसान सञ्जालका सचिवलय सदस्य नहेन्द्र खड्काले पनि सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा देशका सबैजसो जिल्ला, भारत, खाडी मुलुकलगायतको स्थानबाट सयभन्दा बढी महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको आधारपत्र यस्तो थियो