काठमाडौं । लामो समय लगाएर निर्माण सम्पन्न भएको नाराणगढ–मुग्लिन सडकखण्ड चौडाई गर्ने काम आयोजना चरणमै लापरवाही भएको आशंका गरिएको छ । यो सडकखण्डमा बिहीबार मात्रै ४८ स्थानमा पहिरो गएको आयोजनाले जनाएको थियो ।
इन्जिनियरसमेत रहेका राजनीतिज्ञ सुर्यराज आचार्यले आयोजनाको डिजाइनमै त्रुटि रहेको आशंका गर्दै प्राविधिक जाँचबुझको माग गर्नुभएको छ ।
शुक्रबार ट्वीट गर्दै आचार्यले लेख्नुभएको छ, ‘विश्व बैंकको ऋण सहयोगमा सडक चौडा बनाउने आयोजना सम्पन्न पछि नारायणगढ–मुग्लिन सडकमा पहिरोको आतंक नै चालु छ। प्राविधिक हिसाबले यो सामान्य स्थिति होइन। यो आयोजनाको डिजाईन चरणमा लापरवाहि भएको हो कि भन्ने शंका गर्न मिल्छ। सरकारले प्रविधिक जाँचबुझ गर्ने हो किरु ता कि पाठ सिक्न सकियोस्।’
३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक चौडा पार्ने काम ०७३ चैत ९ मा सुरु भएर निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको थियो । विश्वबैंकको करिब ३ अर्ब ९० करोड ९ सय ३६ मिलियन अमेरिकी डलर सहयोगमा सडक निर्माण भएको हो ।