काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण करिब ६ महिनादेखि बन्द रहेका लामो तथा मध्यम दूरीका यातायातका साधन आजबाट सञ्चालनमा आएका छन् । सरकारले गत चैत ११ गतेदेखि बन्द भएका लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो ।
सरकारले सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन पाइने तर साबिक भाडामा ५० प्रतिशत बढी लिन पाउने निर्णय गरेको छ ।
साथै सरकारले सुरक्षाका लागि कतिपय मापदण्ड अपनाउन सरकारले कडाईका साथ निर्देशन दिएको छ । यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।
लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने छ । साथै लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ ।
स्वास्थ्य सावधानीका उपाय पालना गरे-नगरेको पत्ता लगाउन ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।
लामो समयदेखि थन्किएका सवारी साधन सञ्चालनमा आउने भएपछि काठमाडौंको नयाँ बसपार्क लगायतका स्थानमा चहलपहल बढेको छ ।
यातायात व्यवसायी र चालक महासंघले आजबाट गाडी चलाउन र सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।

