काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउनेगरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
खतिवडाले १९ भदौमा अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । मन्त्री नियुक्त भएको छ मिहनाभित्रै संघीय संसदको सदस्य बन्नुपर्नै संवैधानिक बाध्यताका कारण खतिवडा राष्ट्रिय सभा सदस्यसँगै अर्थमन्त्रीबाट बाहिरिनु भएको हो ।
रिक्त रहेको राष्ट्रिय सभाको एक सिटमा वामदेव गौतमलाई पठाउने निर्णय नेकपाले गरेपछि खतिवडा बाहिरिन बाध्य हुनुभएको हो ।
एसिड आक्रमण विरुद्ध कडा कानुनको तयारी
सरकारले एसिड आक्रमणविरुद्ध कडा कानुन ल्याउने तयारी गरेको छ । प्रवक्ता ज्ञवालीले सरकारले एसिड आक्रमण सम्बन्धी नयाँ कानुन ल्याउन लागेको जानकारी दिनुभएको हो ।
यतै, हरेक वर्ष भदौ २५ गतेलाई एसिड आक्रमण विरुद्धको जागरण दिवस मनाउने निर्णय पनि गरेको छ । पीडितहरुको सम्पूर्ण उपचार खर्च सरकारले नै ब्याहोर्ने र आजीवन औषधि खानुपर्ने भएपनि त्यसको व्यवस्था सरकारले नै गर्ने निर्णय गरिएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
सरकारले वीर, पाटन र कीर्तिपुर बर्न अस्पताललाई एसिड आक्रमण डेडिकेटेड अस्पतालको रुपमा घोषणा गरेको छ ।
पीडितहरुलाई निशुल्क शिक्षा, क्षमता विकास तथा तालीम, योग्यता अनुसारको रोजगारी मिलाउन निजी क्षेत्रसँग समन्वय गर्ने, कृषि क्षेत्रमा लाग्न चाहने पीडितलाई अनुदानको व्यवस्था मिलाउने लगायतका निर्णय सरकारले गरेको छ ।