काठमाडौँ । श्रव्य पुस्तकालय तथा श्रोत केन्द्र नेपालले अहिलेको विशेष परिस्थितिमा परीक्षा लिइँदा फरक क्षमता भएकालाई ख्याल गर्न आग्रह गरेको छ । २०७७ भदौ २३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाउँदै उक्त संस्थाले यस्तो माग गरेको हो ।
हाल अनलाइन शिक्षा विकल्पको रूपमा आइरहेको सन्दर्भमा त्यसो गर्नु सही भए पनि फरक क्षमता भएका व्यक्तिलाई यसमा नसमेटिनु मानवअधिकारको समेत हनन् भएको संस्थाको तर्क छ । “दृष्टिविहीन, बहिरा, बौद्धिक अपाङ्गता भएकालाई अनलाइनबाट सम्भव नदेखिएकाले विद्यालय स्तरका श्रोतकक्षालाई कसरी सञ्चालन गर्न सकिन्छ, यस विषयमा, विशेष गरी शिक्षा मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छौँ” ध्यानाकर्षण पत्रमा भनिएको छ ।
संस्थाका अध्यक्ष रमेशबाबु तिवारीको हस्ताक्षरमा मन्त्रालयलाई प्रेषित ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ–
“हाल देशका विश्वविद्यालयले अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन गर्ने तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यक्रम छोटो बनाएर शैक्षिक सत्र नलम्ब्याउने नीति अपनाएको छ । त्यो केवल साङ्ग व्यक्तिका लागि मात्र सम्भव भएको छ । विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा अनलाइन व्यवस्थाको पहुँच नपुग्ने बेहोरा अवगत गरिन्छ । त्यस वर्गप्रति के कस्तो व्यवस्था गर्न सकिन्छ ? यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवश्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, विश्वविद्यालय तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहन्छौँ ।
अनलाइन कक्षा सबैको पहुँचमा व्यवस्था गरिनुपर्छ । अपाङ्गता भएका कुनै पनि वर्गले असहज महसुस गर्न हुन्न । यदि उक्त वर्गलाई परीक्षा दिलाउन र सहज रूपले पठनपाठन गर्न अवरोध भएमा सम्मानित सर्वोच्च अदालतको समेत मानहानी र सम्पूर्ण अपाङ्गता भएका व्यक्तिको अधिकार हनन् भएको ठहर्ने छ ।
यस्तो गम्भीर विषयमा हामीलगायत सरोकारवाला निकायसँग कसैले पनि समन्वय गर्न नखोज्नुमा हाम्रो आपत्ति रहेको छ । साथै दृष्टिविहीन, बहिरा, बौद्धिक अपाङ्गता भएकालाई अनलाइनबाट सम्भव नदेखिएकाले विद्यालय स्तरका श्रोतकक्षालाई कसरी सञ्चालन गर्न सकिन्छ, यस विषयमा, विशेष गरी शिक्षा मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छौँ ।
अपाङ्गता भएका व्यक्तिहरू विभिन्न स्कुल तथा कलेजका विभिन्न सङ्कायमा अध्ययन गर्दै आएका छन् । हाल कोभिड–१९ का कारणले बन्दाबन्दीको स्थितिमा छन् । यस्तो विषम परिस्थितिमा अपाङ्गता भएका व्यक्तिलाई समेत ध्यान दिएर अनलाइनबाट परीक्षा लिने तथा पठनपाठन गर्ने व्यवस्थाको हामीले विरोध गर्न खोजेका होइनौँ भन्ने कुरा स्मरण गर्न चाहन्छौँ । तर अपाङ्गता भएका व्यक्तिलाई ध्यान दिएर उनीहरूमैत्री सामग्री तयार गरी सञ्चालन गरेमा हाम्रो समर्थन रहने छ ।
जहाँ इन्टरनेट र आधुनिक उपकरणको सुविधा छैन, त्यस्तो विकट ठाउँमा समेत अपाङ्गता भएका व्यक्ति बसेका छन् । यस्तो परिस्थितिमा तिनीहरूको परीक्षा छुट्नु हुन्न र पढाइ व्यवस्थित हुनुपर्छ । साथै गरिब विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराउने चर्चा चलिरहेकाले अपाङ्गता भएका व्यक्तिलाई पनि उक्त अवसर उपलब्ध गराउनुपर्छ ।
हामीले पेश गरेको ध्यानाकर्षण पत्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवश्रोत विकास केन्द्र पाठ्यक्रम विकास केन्द्र, विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोगले विशेष ध्यान दिनुपर्ने हाम्रो ठहर रहेको छ । सम्बन्धित निकायले ध्यान नदिएमा हाम्रो मानवअधिकार हनन् भएको ठहर गरी कानुनी उपचारका बाटोसमेत अवलम्बन गर्नसक्ने कुरा अवगत गराउँछौँ ।”

