चितवन । सरकारले रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान चिन्तित छन् । मलको अभावमा धान खेतीनै बिग्रने र भोकै पर्नुपर्ने चिन्ताले किसानलाई सताएको छ ।
यही चिन्ताका कारण कोरोना संक्रमणको कहरलाई वेवास्ता गर्दै मल लिन हजारौं किसान मध्यरातिदेखि लाइन लागेका छन् । चितवनमा भित्रिएको मल वितरण गर्न थालिएपछि किसानहरु कोरोनाको प्रवाह नगरी लाइन लागेका हुन् ।
भरतपुर महानगरपालिका–६ गितानगरमा रहेको एक सहकारीले मल वितरण गरेपछि हजारौं किसान मल लिन लाइन लागेका छन् । रातिदेखि नै किसान मलको लाइनमा बसेका छन् ।
चितवनमा बढ्दो कोरोनाको संक्रमणसंगै निषेधाज्ञा जारी गरिएपनि त्यसको प्रवाह छैन । न सामाजिक दूरी छ, न मास्क र अन्य सावधानी नै ।
प्रहरीले किसानलाई केही फरकको दूरीमा राख्ने प्रयास गरेपनि सम्भव नभएको स्थानीयले बताएका छन् । ठुलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भिड तितरवितर पार्ने प्रयास गरेको थियो ।
सरकारले किसानको समस्यालाई हल्का रुपमा लिएर वेवास्ता गरेको भन्दै किसानले आक्रोश व्यक्त गरेका छन् । सरकारले देशभित्र न मल उत्पादनको वातावरण बनाएको छ, न त आयातलाई नै व्यवस्थित बनाउन चाहेको देखिन्छ ।