काठमाडौं । नेपालमा हालसम्म ८ लाख ४७ हजारले कोरोना बीमा गरेका छन् । बीमा समितिका अनुसार वैशाख ४ गते देखि कोरोना भाइरस (कोभिड-१९) बीमालेख जारी गरिएकोमा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको हो ।
बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको जानकारी दिनुभयो । जसमा सबै निर्जीवन बीमा कम्पनीको बीमा पुल मार्फत बीमालेख जारी गर्ने व्यवस्था भएकोे थियो । समितिले दुई श्रेणीको बीमांक रकम कायम गरी बीमालेख जारी गरेको थियो ।
जसमध्ये एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको थियो । जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको थियो ।
त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिदा अहिले १ लाख रुपैयाँको बीमा ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँको बीमा १ सय ५० रुपैयाँमा हुन्छ । सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बीमाङ्क रहेको बीमालेख विक्री नभई एक लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख मात्रै विक्री भएको समितिका अध्यक्ष चापागाईंले बताउनुभयो ।
त्यस्तै अहिले सम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेको पनि उनले बताए। त्यसबाहेक अहिले करिब २ सय ५० जनाको दावी परेको र त्यसको फरफारक हुन बाँकी रहेको अध्यक्ष चापागाईंको भनाई छ । एकपटक कोरोना बीमा गरेपछि २०७८ असार मसान्तसम्म कोरोना संक्रमण पुष्टि भएमा बीमाङ्क रकम दावी गर्न पाइनेछ ।
बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँसम्म दायित्व लिनुपर्नेमा अहिले नेपाल सरकारले सबै कर्मचारीको बीमा गर्दा एक अर्ब प्रिमियम पुग्ने भएकाले बीमा कम्पनीहरुमाथि कुनै दायित्व नपर्ने उहाँले बताउनुभयो ।
एक अर्ब भन्दा माथि साढे ३ अर्बसम्म पुनर्बीमा कम्पनी र बीमा समितिले व्यहोर्नेपनि उहाँले बताउनुभयो । साढे ३ अर्ब भन्दा माथिको बीमा दावी भुक्तानी भने नेपाल सरकारले गर्नेछ ।
