रामप्रकाश पुरी
प्रवक्ता, नेकपा (मसाल)
नेकपा (मसाल) ले देशमा हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनाको खतरा बढ्दै गइरहेको विश्लेषण गरेको छ, अब पनि प्रतिगमन सम्भव छ र ?
नेपालमा गणतन्त्र र धर्मनिरपेक्षताको विषय नेपाली जनताको लामो संघर्षसित सम्बन्धित छन् । हाम्रो पार्टीले गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा आफ्नो सम्पूर्ण इतिहास खर्चेको छ । नेपाली जनताको संघर्षको विषयका रुपमा रहेकाले एउटा कालखण्डमा आएर यी विषयहरु स्थापित हुन पुगे । त्यसैले गणतन्त्र र धर्मनिरपेक्षता नेपालको राजनीतिमा अग्रगमनकारी र प्रगतिशील कुराहरु हुन् । गणतन्त्र भनेको राजतन्त्र अन्त्यको एउटा महत्वपूर्ण युग हो । धर्मको आडमा जीवित रहेको शासकीय प्रवृत्तिको अन्त्यको युग हो धर्मनिरपेक्षता । यी दुबै कुराहरु नयाँ राजनीतिक उपलब्धीका रुपमा प्रार्दुभाव भएकाले प्रतिक्रियावादीहरुले यी दुबैमाथि ठूलो वैरभाव राख्दछन् ।
खासगरी यी दुई कुराबाट राजावादी र कट्टर हिन्दूवादीहरु रनाहामा पर्दै आइरहेका छन् । उनीहरुले गणतन्त्रको अन्त्य गरेपछि स्थापना गर्ने भनेको कथित व्यवस्था राजतन्त्र हो ।
जतन्त्र के हो भन्ने कुरा नेपाली जनतालाई राम्रोसँग थाहा छ । उनीहरुले गणतन्त्रलाई बदनाम गराउनका लागि सरकारका गलत कार्यहरुको आधार बनाउँछन् । राजतन्त्र र हिन्दू राज्यको स्थापनाको लागि उनीहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई मास्नुपर्ने हुन्छ । त्यसैले उनीहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई सिध्याउनका लागि निकै चलखेल गरेका छन् । बिभिन्न संगठनभित्र छिपेर बसेका प्रतिगमनकारी तत्वहरु, बिभिन्न छद्मभेषमा लुकेका राजावादी प्रवृत्तिहरु विस्तारै सतहमा आइरहेका छन् र उनीहरुले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध औंलो तेस्र्यारहेका छन् । राजतन्त्रवादी शक्तिहरुले त घोषित रुपले नै राजतन्त्र र हिन्दूधर्मको पक्षमा काम गर्दै आइरहेका छन् । यी सबै स्थितिहरुले हिन्दूराज्य पुनर्वहाली र राजतन्त्र पुनस्र्थापनाको खतरा बढ्दै गएको कुरालाई झल्काउँछन् ।
नेकपा (मसाल) ले हिन्दु धर्म पुनर्वहालीलाई अस्विकार गर्दछ । तर यसले क्रिश्चियन मिसनरीलाई बल पुर्याउँछ भन्ने तर्क पनि गरिन्छ नि ?
हिन्दू धर्म खारेज र पुनर्वहाली भन्ने हाम्रो पार्टीमा कहिल्यै पनि विषय बनेको छैन र बन्ने पनि छैन । किनभने यो राजनीतिक प्रश्न होइन । हिन्दू धर्मप्रति आस्था राख्ने वा अरु कुनै धर्मप्रति आस्था राख्ने जनताको धार्मिक स्वतन्त्रताको कुरा हो । हामीले त्यसको सम्मान गर्नुपर्छ र गर्दै आएका छौँ । तर हिन्दूराज्यको कुरा राजनीतिक प्रश्न हो । त्यसैले यस विषयमा हामीले आफ्नो नीति स्पष्ट गर्दै आएका छौँ । अब नेपालमा हिन्दू राज्यको विषय वैधानिकताभित्र पर्दैन । कुनै संगठनहरुले त्यो कुरा उठाएको भएपनि नेपालको संविधानले व्यवस्था गरेको कुरा धर्मनिरपेक्षता नै हो । संविधानमा व्यवस्था भएको कुरा परिवर्तन गर्नका लागि आफ्ना सम्वैधानिक व्यवस्थाहरु होलान् । त्यो अहिले कसैले मागको विषय बनाएको कारणले पुनर्वहाली हुने कुरा पनि होइन । अर्को कुरा, त्यो माग राजनीतिक रुपले पनि बेठीक छ ।
कुनै राज्य धर्म सापेक्ष हुन्छ भने त्यसले बिभिन्न धार्मिक आस्थाका नागरिकहरुको सम्मान पनि गर्न सक्दैन । त्यसैले राज्यको कुनै आफ्नो धर्म हुनुहुँदैन । त्यसप्रकारको अवस्थामा राज्यले अपनाउने धर्मसम्बन्धीको नीति भनेको धर्मनिरपेक्षता नै हो । हामीले आम नागरिकको आ—आफ्नो धार्मिक आस्थाको सम्मानको लागि पनि धर्मनिरपेक्षताको पक्षमा उभिनै पर्दछ । त्यसैले हिन्दू धर्मका आडमा हिन्दूराज्य बनाउने जुन षडयन्त्र भइरहेका छन्, त्यो प्रतिगमनका लागि भइरहेकाले हामीले त्यसको पूरा विरोध गर्दछौँ । यसो गरिरहेको बेलामा क्रिश्चयन मिसनरीलाई बल पुग्यो कि भन्ने पनि तर्क हुनसक्दछ, त्यतातिर पनि हाम्रो ध्यान जानुपर्दछ ।
हामीले धर्मनिरपेक्षतालाई स्वीकार गर्नुको अर्थ क्रिश्चयन मिशनरीलाई बल पुर्याउनु हुँदैन । हाम्रो पार्टीको आठौँ महाधिवेशनले यो कुरा स्पष्ट गरेको छ । क्रिश्चयन धर्मलाई साम्राज्यवादी स्वार्थ पूरा गर्ने हतियारको रुपमा प्रयोग गरिएको छ र त्यसका माध्ययबाट सार्वभौमिक मुलुकहरुको स्वाभिमान, राष्ट्रियता र स्वतन्त्रतामाथि आँच पुर्याउने काम भइरहेका छन् । धर्म प्रचारका नाममा मानिसको स्वाभिमान क्रयविक्रय गर्ने काम क्रिश्चयन मिशनरीहरुले अगाडि बढाइरहेका छन् । हामीले यसबारेमा स्पष्ट नीति लिएका छौँ र त्यसप्रकारका मिशनरीहरुको विरोध पनि गर्दै आएका छौँ ।
देशको राष्ट्रियतामाथि खतरा बढ्दै गयो भन्नुहुन्छ, त्यस्तो खतरा को–को बाट कसरी भइरहेको छ, स्पष्ट पारिदिनुहोस् न ।
राष्ट्रियताको आन्दोलनमा हाम्रो पार्टीले गौरवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बिभिन्न सन्धिसम्झौताहरुले राष्ट्रियताको विषयलाई निकै नै गम्भीर बनाइदिएका छन् । नेपाली शासकहरुमा प्रवृत्तिगत रुपमा रहेको स्वार्थी र सम्झौतापरस्त चरित्रका कारणले राष्ट्रियता जोखिममा पर्दै आएको छ । पछिल्लो समयमा भारतीय साम्राज्यवादले नेपालप्रति अपनाइरहेको कार्यशैली सबैभन्दा खतराको रुपमा रहेको छ । संघीयताका पक्षधर भनिएका तर क्षेत्रीय अखण्डताका विरुद्धमा नै सम्पूर्ण रुपले आफूलाई समर्पित गरेका मधेशवादी दलहरुले भारतीय साम्राज्यवादी स्वार्थको प्रतिनिधित्व देखिने गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएका छन् ।
नेपालको आन्तरिक मामिलामा संकट पैदा गरेर भारतीय शासकवर्गहरुसँग मिलेमतो गर्ने प्रवृत्ति मधेशवादी संगठनहरुमा देखिंदै आएको छ । नेपालको संविधानमा भारतीय साम्राज्यवादका स्वार्थहरुको अपेक्षित सम्वोधन नभएपछि मधेशवादी संगठनहरुको आन्दोलनको आडमा नेपालमा भारतले गरेको नाकावन्दी र मधेशवादी संगठनहरुको भारतीय शासकहरुसितको सम्बन्धलाई विश्लेषण गर्ने हो भने नेपालको राष्ट्रियतामाथि सबैभन्दा बढी खतरा भारतीय साम्राज्यवाद र मधेशवादी संगठनहरुबाट भएको कुरा स्पष्ट छ ।
त्यसैगरी जातीय राज्यको दुर्भावमा लपेट्न पश्चिमा साम्राज्यवादीहरु पनि दिलचस्पी राख्दछन् । अर्को कुरा पनि छ, नेपालमा हिन्दू राज्य र राजतन्त्र पुनस्र्थापनाका लागि भारतीय साम्राज्यवादभित्रका कट्टर हिन्दूवादीहरुले पनि यहाँको राष्ट्रियतालाई जोखिममा पार्ने सम्भावनाको खेल खेल्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । राष्ट्रियताका यी सबै समस्याहरुमाथि विजय पाउनका लागि जनताको सचेतपूर्ण संघर्षले भूमिका खेल्दछ र हामीले सँधै त्यो पक्षमाथि जोड दिंदै आएका छौँ र दिन्छौँ ।
ने.क.पा.(मसाल) ले अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरुसँगको भाइचारा सम्बन्ध लाई कत्तिको महत्व दिएको छ ?
ने.क.पा.(मसाल) पहिले रिमको सदस्य थियो । त्यहाँ हाम्रा मतभेद रहे र दुई लाइनको संघर्ष पनि भयो । इतिहासले सावित गर्यो कि अन्तर्राष्ट्रिय स्तरमा भएको विश्व कम्युनिस्ट आन्दोलनको पछिल्लो त्यो दुइलाइनको संघर्षमा हाम्रो पार्टीको विचारको नैतिक विजय भयो । तर त्यहाँबाट हाम्रो पार्टीलाई निस्कनु परेको भएपनि आइसी जस्तो अर्को एउटा शक्तिशाली अन्तर्राष्ट्रिय मंच निर्माण भएको छ । त्यसमा करिब ४५ देशका बिभिन्न कम्युनिस्ट तथा वामपन्थी संगठनहरु आवद्ध रहेका छन् ।
त्यसका साथै अझ खुकुलो मोर्चा बनाएर आइसीओआर समेत निर्माण भएको छ । त्यसमा पनि हाम्रो पार्टीको सक्रिय भूमिका छ । आइसीओआर खासगरी साम्राज्यावादविरोधी संगठनहरुको अन्तराष्ट्रिय मोर्चाको रुपमा रहेको छ । त्यसले आफ्ना बिभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धका लागि यी प्रयासहरुमा हाम्रो ऐक्यवद्धता छ । त्यसैगरी हाम्रो पार्टीले बिभिन्न देशका कम्युनिस्ट पार्टीहरुसँग पनि भाइचारा सम्बन्ध कायम गरेको छ । यी सम्बन्धहरुलाई अँझै विस्तार र सुदृढ बनाएर लैजाने पार्टीको प्रयत्न रहने छ ।
वर्तमान सरकार चौतर्फी असफल र आलोचित हँुदै गइरहेको छ, तैपनि मसालले सरकारलाई समर्थन कायमै राखेको छ नि, किन ?
यो सरकार असफल वा आलोचित हुनु हाम्रा लागि कुनै आपत्ति होइन । हाम्रो आपत्तिको विषय हो, वर्तमान सरकारको भन्दा झन् खराब परिस्थिति भित्र्याउने प्रयत्नको । वर्तमान सरकारलाई प्रतिक्रियावादीहरुले कम्युनिस्टको सरकार भनेर कम्युनिस्ट मूल्य र आदर्शहरुका विरुद्धमा जनमत निर्माण गर्ने ठूलो प्रयास गरिरहेका छन् । वास्तवमा यो सरकार कम्युनिस्ट सरकार होइन । यो सरकार निर्माण गर्ने संगठनहरु पनि कम्युनिस्ट संगठनहरु होइनन् । उनीहरुले सामान्य सुधारका कार्यहरुलाई पनि अगाडि बढाउन सकेनन् । यो सरकारले सामाजिक सुरक्षाको विषयमा पनि आफ्नो नालायकीपन प्रदर्शन गर्यो । भ्रष्टाचार नियन्त्रण हुनुको सट्टा बढेर गयो । सिण्डिकेटको व्यापार हटाउने हल्ला गरेको भएपनि सरकारले त्यसमा घुँडा टेक्यो । समग्रमा सरकारले के गर्यो ? के गर्दैछ ? भन्ने प्रश्नहरुका उत्तरहरु छैनन् । सरकारको यो स्थितिको फाइदा उठाएर मुलुकमा क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरुले स्थान लिन सक्ने अवस्था रहेको भए धेरै राम्रो हुने थियो ।
तर स्थिति ठीक उल्टो हाम्रा अगाडि आइरहेको छ । मुलुकमा प्रतिक्रियावादी शक्तिहरु बलियो बन्दै गइरहेका छन् । प्रतिगमनका सम्भावनाहरु देखा पर्दै गइरहेका छन् । जनआन्दोलन र जनसंघर्षहरुले स्थापित गरेका मूल्यहरुलाई अपहरण गरेर प्रतिक्रियावादीहरुले आफ्नो स्थिति बलियो बनाउने प्रयत्न गरिरहेका छन् । यस्तो अवस्थामा राम्रो गर्न नसक्ने सरकारका विरुद्धमा जानु राम्रै कुरा हुन्थ्यो । तर हामीले समर्थन गर्नुपर्ने आवश्यकता छ । हामीले समर्थन गर्नुपर्दा नराम्रो लाग्न सक्दछ । तर यो भन्दा नराम्रो कुरा वर्तमान अवस्थालाई समाप्त पारेर झन् नराम्रो स्थितिको स्थापना हुनु हो ।
देशमा प्रतिगमन भित्र्याउनका लागि प्रतिक्रियावादीहरुले गर्ने षडयन्त्र र प्रयासहरुलाई असफल पार्नका लागि हाम्रो पार्टीले गर्ने पहल र प्रयत्नको सन्दर्भमा नै वर्तमान सरकारलाई हाम्रो समर्थन रहन गएको हो । वास्तवमा भन्ने हो भने वर्तमान सरकारका गलत क्रियाकलाप र नालायकीपनाको सबैभन्दा व्यवस्थित संघर्ष हाम्रो पार्टीले नै गरेको छ । तर त्यो नगण्य जस्तो देखिएको छ । किनभने अहिलेको स्थितिबाट सरकार अगाडि बढ्न सकेन, अरु शक्तिहरु प्रतिगमनतर्फ उन्मुख भएका छन् तर अग्रगमनतर्फ जाने शक्ति अत्यन्त न्यून रह्यो । त्यसकारण अग्रगमनको दिशामा हामीले मात्रै पहल गर्नुपर्ने भएकाले नगण्य जस्तो देखिएको छ । यसबाट पनि मुलुकको चित्र स्पष्ट हुन्छ कि प्रतिगमनकारीहरु कति धेरै शक्तिशाली भइरहेका छन् । उनीहरु वर्तमान स्थितिबाट धेरै भन्दा धेरै फाइदा लिएर आफ्नो गुमेको स्वर्ग स्थापना गर्ने ध्याउन्नमा छन् । त्यसबेला जनताका अधिकारहरु कुण्ठित हुने कुरा निश्चित छ । त्यसो हुन नदिनाका लागि हामी सजक हुन आवश्यक छ ।
अर्को प्रसङ्ग, ने.क.पा.(मसाल)ले संघीयता विरुद्वको आन्दोलनलाई बिद्यार्थी संगठनको जिम्मा दिएर पार्टी बिस्तारै पछि हटेको हो ?
नेपालमा संघीयता विरोधी आन्दोलन हाम्रो पार्टीले शुरु गरेको हो । यो आन्दोलनलाई उचाइमा पुर्याउने काम पनि हाम्रो पार्टीले नै गरेको हो । नेपालमा संघीयता विरोधी जनमत निर्माण गर्ने काम पनि हाम्रो पार्टीको नेतृत्वमा भएको हो । अहिले पनि संघीयताका विरुद्ध हाम्रो पार्टीले बिभिन्न अभियानहरु चलाइरहेको छ । त्यसैले यस आन्दोलनबाट पार्टी पछाडि हट्ने भन्ने कुरा नै हुँदैन । फेरि कुनै आन्दोलनबाट पार्टी पछाडि हट्छ भने पार्टीको कुनै जनवर्गीय संगठनले त्यो आन्दोलनलाई अगाडि बढाउन सक्ने कुरा कहिल्यै हुन सक्दैन । यदि भयो भने या त त्यो जनवर्गीय संगठन पार्टीका तर्फबाट विघटन हुन्छ या त्यो जनवर्गीय संगठन नै पार्टीमा रुपान्तरण भएर अचम्म हुन्छ ।
तर हाम्रो पार्टीको इतिहासमा त्यस्तो घटना कहिल्यै पनि भएको छैन । अहिले पनि हुँदैन । जहाँसम्म संघीयता विरुद्धको आन्दोलनको जिम्मा विद्यार्थी संगठनलाई छ, त्यो व्यवस्थापनको लागि नै हो । यसपटक हुने त्यो आन्दोलनको मुख्य व्यवस्थापकमा विद्यार्थी संगठन नियुक्त भएको छ । त्यो कुरा पार्टीले नै फैसला गरेको हो । यसरी त्यसको वास्तविक नेतृत्व पार्टीमा निहित हुन्छ । पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले दिंदै आएको संघीयता विरोधी आन्दोलनको नेतृत्वको निरन्तरताको रुपमा नै यो आन्दोलन चल्ने हो । यसमा पूरै पार्टी परिचालित हुन्छ । पार्टी परिचालित भएन भने त्यो आन्दोलन हुन सक्दैन ।
नेपाली जनताका प्रिय नेता का. चित्रबहादुर के.सी.ले नै त्यो आन्दोलनको अग्रमोर्चाबाट नेपाली जनतालाई सम्बोधन गर्नुहुन्छ । यी सबै पक्षले स्पष्ट गर्दछन् कि संघीयताविरोधी आन्दोलनको आयोजक को हुने छ र वास्तविक नेतृत्व कसले दिंदैछ ? विद्यार्थी संगठनसित व्यवस्थापनका योजनाहरु रहेका छन्, तिनलाई कार्यान्वयन विद्यार्थी संगठनले त गर्छ नै, पूरै पार्टीले त्यसमा ध्यान दिने छ । हाम्रो पार्टीका वैधानिक संघर्षका योजनाहरुलाई वैधानिक मोर्चा र जनवर्गीय संगठनहरुले नै सम्पन्न गर्ने गर्दछन् । त्यसलाई पार्टीले समृद्ध बनाउनका लागि हरतरहले प्रयत्न गर्दछ ।
प्रशंग बदलौँ, कतिपय मिडियाहरुले महामन्त्री मोहनविक्रम सिंह ८५ वर्षको उमेरमा पुनः पार्टी नेतृत्वमा निर्वाचित भएको बिषयलाई महत्वका साथ उठाए । राजनीतिमा युवा नेतृत्वको वहस चलिरहेका बेला नेकपा (मसाल) लाई त्यो बहसले किन नछोएको ?
ती मिडियाहरुले त्यसप्रकारको कुरा किन उठाए ? हामीलाई पनि अचम्म लाग्दछ । उनीहरुले ८५ वर्षको उमेरमा पनि का. मोहनविक्रम सिंहको सक्रिय जीवनको गरिमालाई स्थापित गर्नका लागि त्यो कुरालाई उठाएका छन् भने त्यो स्वागतयोग्य छ । तर हाम्रो पार्टीको गौरवपूर्ण इतिहासलाई ध्वङ्स गर्ने मनसायबाट कुरा उठाइएको छ भने त्यो निकै खेदजनक छ । पार्टीमा कार्य जिम्मेवारी मानिसको सक्रिय जीवनमा आधारित हुन्छ ।
हाम्रो पार्टी जीवनमा का. मोहनविक्रम सिंहको उमेरले केही पनि फरक पर्दैन । सत्ता र स्वार्थको पछाडि दौडिएको युवा भन्दा सत्य र न्यायको पक्षमा जीवन भुक्तान गरिरहेको र सक्रिय व्यक्तित्वको नेतृत्व एउटा कम्युनिस्ट पार्टीलाई आवश्यक हुन्छ । हाम्रो पार्टी कम्युनिस्ट पार्टी हो । त्यसैले का. मोहनविक्रम सिंहको नेतृत्व हाम्रो पार्टीलाई आवश्यकता हो । त्यो नेतृत्व सत्य र न्यायको निम्ति हो । उहाँ सक्रिय रहँदासम्म उहाँलाई पार्टीले आवश्यक जिम्मेवारी दिन्छ । उहाँ सक्रिय रहन सक्नुभएन भने पार्टीले सोच्दछ । तर अहिलेलाई का. मोहनविक्रम सिंहले हाम्रो पार्टीलाई सक्रिय नेतृत्व दिइरहनुभएको छ । हामी युवाहरु पनि उहाँको नेतृत्वलाई समृद्ध बनाउनका लागि प्रयत्नरत छौँ ।