डोटी । डोटीको जोरायल गाउँपालिकामा सरुवा भएर गएका प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नालाई शारीरिक रूपमा अशक्त भएको भन्दै गाउँपालिकाले हाजिरी गर्न दिएको छैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातौँ तहका कर्मचारी नरेन्द्रसिंह ठगुन्नालाई जोरायल गाउँपालिकाको प्रमुख प्रसाशकीय अधिकृतमा २५ साउनमा सरुवा गरेकोमा अध्यक्ष दुर्गादत्त ओझाले हाजिर गर्न नदिएका हुन् ।
ठगुन्ना शारीरिक रूपमा अशक्त भएकाले भौगोलिक रूपमा विकट गाउँपालिकामा कामकाज गर्न नसक्ने अध्यक्ष ओझाले लेखेको पत्रमा उल्लेख छ । ठगुन्ना ढाडसम्बन्धी अशक्तता भएका व्यक्ति हुन् ।
‘‘निज कर्मचारी शारीरिक रूपमा अपाङ्ग रहेको तथा यस गाउँपालिकाको भौगोलिक विकटताका कारण कामकाजमा व्यवधान पर्ने देखिने भएको हुँदा निज कर्मचारीलाई माग गरेको कार्यालयमा सरुवा संशोधन गरिदिन हुन अनुरोध छ’ अध्यक्ष ओझाले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
मन्त्रालयले पठाएको ठाउँमा हाजिर हुन नपाएकाले अन्यत्र सरुवा माग्दै मन्त्रालयलाई तीन पटक पत्र पठाइसके पनि सुनुवाइ नभएको बताइन्छ । यसअघि डडेलराको आलिताल गाउँपालिकामा कार्यरत ठगुन्नाको कार्यकुशलताबारे कसैले प्रश्न नउठाएको स्थानीय बताउँछन् । डडेलधुरा जिल्लाको आलिताल गाउँ पालिका डोटीको जोरायल गाउँपालिकाभन्दा विकट मानिन्छ ।