काठमाडौं । नेपालमा पनि कोरोना खोपको परीक्षण हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोभिड १९ विरुद्ध बनाइएको भ्याक्सिनको परीक्षण गर्ने तयारी गरेको हो ।
एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सो भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो । विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको बताउनुभयो ।
भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको पनि उहाँले बताउनुभयो । क्लिनिकल ट्रायलका लागि प्रधानमन्त्री स्तरबाट स्वीकृति लिनु नपर्ने पनि ज्ञवालीले स्पस्ट पार्नुभयो ।
त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लिडिङ अर्गनाइजेसनको रुपमा रहेको र उसले पनि क्लिनिकल ट्रायलका विषयमा हेरिराखेको हुनुपर्ने उहाँले बताउनुभयो । सबै चरणका क्लिनिकल ट्रायल पास भएका भ्याक्सिनलाई डब्लुएचओले पनि स्वीकृति दिने विश्वास गरिएको पनि उहाँले बताउनुभयो ।
ज्ञवालीले रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको बताउनुभयो । त्यसमध्ये चीनको होङसी कम्पनीले निर्माण गरेको भ्याक्सिन एक हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको जानकारी दिनुभयो ।
त्यस्तै रुसमा निर्माण भएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न र उत्पादन सम्भाव्यता भए नेपालले पनि भ्याक्सिन बनाउनका लागि लगानी गर्ने सम्बन्धमा प्रस्ताव गरिएको बताउनुभयो ।