काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सचिवालयले अछामको रामारोशनमा गृहमन्त्रीलगायतले कार्यक्रम गर्दा धानबाली नष्ट गरेको भन्ने समाचारको खण्डन गरेको छ । सोमबार सचिवालयको तर्फबाट विज्ञप्ति प्रकाशित गरी गृह मन्त्रालयले खोला किनारमा कार्यक्रम गरेको र धानबालीमा नमिचेको दाबी गरेको छ ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बाढीले धानखेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको दाबी गर्नुभएको छ । राहत वितरणको क्रममा धानबाली नस्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार भएको दाबी गर्दै कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको विज्ञप्तिमा बताइएको छ ।
बाढीले नस्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल बनाईएको सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावहरुलाई आत्मसात गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने सचिवालयले जनाएको छ ।
गत मंगलबार राति रामारोशन गाउँपालिका-५ को स्थानीय कैलाश खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढी बस्तीमा पस्दा १७ जना बेपत्ता भएका थिए।
बाढीले खोला किनारको धानखेतीसमेत नष्ट गरेको थियो भने धानखेतीमै गृहमन्त्री रामबहादुर थापासहितको जम्बो टोलीले जोगिएको धानखेतमै सभा गरेर धानबाली नष्ट गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। बाढीले बगाएर बेपत्तामध्ये ८ जनाको शव फेला परेको छ भने अझै ९ जना बेपत्ता छन् ।