बुनिया । कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले देशमा रोगको प्रकोप गम्भीर बन्दै गएको देखाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ११ हजार ४२ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार तीन सय ८७ जनाको मृत्यु भइसकेको छ । यो कङ्गोमा देखिएको अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप हो ।
सङ्क्रमितमध्ये झन्डै आधाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।
गत मे महिनाको मध्यतिर प्रकोप घोषणा गरिएयता सशस्त्र द्वन्द्व, स्वास्थ्य प्रणालीको कमजोर अवस्था, जीर्ण सडक पूर्वाधार तथा स्थानीय समुदायमा व्याप्त अविश्वास र गलत सूचनाका कारण स्वास्थ्यकर्मीमाथि हुने आक्रमणजस्ता समस्याले प्रकोप नियन्त्रणमा चुनौती थपेका छन् ।
यस प्रकोपका लागि जिम्मेवार बुन्डिबुग्यो भाइरस विरुद्ध हालसम्म कुनै खोप वा उपचार विधि उपलब्ध छैन । यो भाइरस कङ्गोका २६ प्रान्तमध्ये आठोटामा फैलिसकेको छ ।
इतुरी र उत्तर किभु प्रान्तका प्रमुख प्रभावित क्षेत्रमा हिंसा पुन: चर्किएपछि स्वास्थ्य अधिकारी थप चिन्तित बनेका छन् । उनीहरूले स्वास्थ्यकर्मीलाई सङ्क्रमित बिरामीसम्म निर्बाध रूपमा पुग्ने वातावरण बनाउन द्वन्द्वरत पक्षसँग लडाइँ रोक्न आग्रह गरेका छन् ।
कङ्गोका स्वास्थ्यमन्त्री रोजर काम्बाकाका अनुसार कुल सङ्क्रमितमध्ये करिब ७० प्रतिशत इतुरी प्रान्तका छन् भने उत्तर किभु नयाँ सङ्क्रमण फैलिने प्रमुख केन्द्रका रूपमा देखिएको छ ।
विशेषज्ञहरूले कङ्गोमा इबोला प्रकोपको विस्तार सुस्त बनाउन र नियन्त्रणमा लिन थप प्रभावकारी प्रयास आवश्यक रहेको बताएका छन् । यसअघि पनि यो रोग युगान्डा, केन्या र नाइजेरियालगायत अफ्रिकी मुलुकमा फैलिएको थियो ।
सन् १९७६ मा पहिलोपटक पहिचान भएयता इबोलाका दर्जनौँ प्रकोप देखिएका छन् । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा ठुलो र घातक थियो । उक्त प्रकोपमा २८ हजारभन्दा बढी सङ्क्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
हाल कङ्गोमा फैलिएको प्रकोप इबोलाको इतिहासमा दोस्रो सबैभन्दा घातक प्रकोप बनेको छ । यसमा सङ्क्रमित र मृतकको सङ्ख्या पश्चिम अफ्रिकाको प्रकोपको तुलनामा कम भए पनि मृत्युको अनुपात उच्च देखिएको छ । (रासस/एपी)





