काठमाडौँ । बुल्गेरियामा मङ्गलबार बाक्लो हुस्सुका कारण ८६ ओटा गाडी आपसमा ठोक्किादा १२ जनाको मृत्यु भएको छ ।
राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ती गाडी आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा ४६ जना घाइते भएका छन् । दुर्घटनापछि राजमार्गलाई दुवैतर्फबाट बन्द गरिएको छ ।
दुर्घटनाका कारण बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि आफ्नो विदेश भ्रमण बिचमै छाडेकी छिन् । उनी पेरिस पिस फोरममा सहभागी हुन फ्रान्सको पेरिस गएकी थिइन् तर दुर्घटनाको खबर पाएलगत्तै उनले कार्यक्रम छाडेर बुल्गेरिया फर्कने निर्णय गरिन् ।
अधिकारीका अनुसार पहिलो दुर्घटना राजमार्गको पूर्वतर्फ जाने लेनमा भएको थियो । बाक्लो हुस्सुका कारण चालकले अगाडि चलिरहेका गाडी देख्न सकेनन्, जसले गर्दा कैयौँ गाडी आपसमा ठोक्किए ।
पहिलो दुर्घटना भएको केही बेरमै राजमार्गको अर्को लेनमा पनि गाडी ठोक्किन पुगे । यो लेन राजधानी सोफियातर्फ जान्छ । अर्कोतर्फ भएको दुर्घटना हेर्ने क्रममा केही चालकको ध्यान सडकबाट हट्न पुग्यो र उनीहरू पनि दुर्घटनाको सिकार बने ।
गाडीको तीव्र गतिका कारण पनि दुर्घटनाको जोखिम बढेको थियो । हाल राजमार्ग बन्द गरिएको छ भने क्षतिग्रस्त गाडी र भग्नावशेष हटाएपछि मात्र यसलाई पुन: खुला गरिनेछ ।
याम्बोल क्षेत्रका गभर्नर जर्जी चालाकोभले दुर्घटनापछि कैयौँ मानिस गाडीभित्रै फसेको बताए । उनीहरूलाई बाहिर निकाल्न उद्धार टोलीले सडकछेउमा लगाइएको ब्यारियरका केही भाग काट्नुपरेको थियो ।
बाक्लो हुस्सुका कारण घाइतेलाई अस्पताल पुर्याउन हेलिकप्टर पनि बोलाउन सकिएको छैन । दुर्घटनाका क्रममा एउटा गाडीमा आगोसमेत लागेको थियो । त्यहाँ उपस्थित एक व्यक्तिले आफ्नो ज्यानको पर्वाह नगरी आगो लागेको गाडीमा फसेका एक जनालाई सकुशल बाहिर निकालेका थिए । (एजेन्सी)





