वासिङटन । अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा रिपब्लिकन सांसदले इरान युद्ध सञ्चालन गरेको विषयलाई लिएर रक्षामन्त्री पिट हेग्सेथ विरुद्ध महाभियोग लगाउने प्रयास विफल पारेका छन् ।
यसबाट मध्यावधि निर्वाचनमा पार्टीले पराजय बेहोरेको केही दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्मा राहत मिलेको छ ।
प्रतिनिधिसभामा महाभियोग प्रस्ताव न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो । यससँगै हेग्सेथमाथि औपचारिक महाभियोग आरोप लगाउने विषयमा बुधबार हुने भनिएको मतदान रोकिएको छ । ट्रम्पका आलोचक रिपब्लिकन सांसद थोमस म्यासीले पेस गर्नुभएको प्रस्तावलाई आफ्नै पार्टीका सांसदले समेत समर्थन गरेनन् ।
म्यासीले पेस गरेको प्रस्तावमा कङ्ग्रेसको स्वीकृतिविना इरान युद्ध सञ्चालन गरेको, अधिकारको दुरुपयोग गरेको तथा यमनका हुथी विद्रोही र लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएका डुङ्गामाथि आक्रमण गरेको आरोपसहित आठोटा विषय समेटिएका थिए । सिनेटर मार्क केलीलाई कारबाही गर्ने प्रयासमार्फत अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजेको आरोप पनि लगाइएको थियो ।
हेग्सेथले महाभियोग प्रयासलाई राजनीतिक प्रहसन भन्दै आफूमाथिका आरोप अस्वीकार गरेका छन् । उनले इरान, यमन र भेनेजुयला विरुद्धका सैन्य कारबाहीको बचाउ गर्दै आवश्यक परे फेरि पनि त्यस्ता कारबाही सञ्चालन गर्ने बताए ।
राष्ट्रपति ट्रम्पले हेग्सेथको कार्यसम्पादनको प्रशंसा गर्दै मतदानको परिणामलाई विजयका रूपमा स्वागत गरेका छन् । उपराष्ट्रपति जेडी भान्सले पनि रक्षामन्त्रीले महाभियोग लगाउनुपर्ने कुनै अपराध नगरेको बताए ।
आगामी जनवरीमा डेमोक्रेटले कङ्ग्रेसको नियन्त्रण लिएपछि महाभियोग प्रयास पुन: अघि बढाउन सक्ने सम्भावना भने कायमै छ । (रासस/एएफपी)





