तेलअभिभ । इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका प्रमुख नीति उल्टाउने तयारी गरेका छन् ।
उनले हमासको आक्रमणबारे सरकारी अनुसन्धान, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायत विधेयक अघि सारेका हुन् ।
इसेनकोटलाई सरकार गठनका लागि छ हप्ताको समय दिइएको छ । गठबन्धन सरकार गठनको टुङ्गो नलागे पनि नेतान्याहूका विपक्षी दलले संसद्मा बहुमत प्राप्त गरेका छन् । इसेनकोटले सबै नागरिकको प्रतिनिधित्व गर्ने सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यता विपक्षी सांसदले वर्तमान सभामुख अमिर ओहानालाई हटाउने प्रक्रिया सुरु गरेका छन् । नयाँ सभामुखका रूपमा इसेनकोटको यासर पार्टीका नेता मतन काहानालाई प्रस्ताव गरिएको छ । सभामुख परिवर्तन भए विपक्षी दललाई आफ्ना विधेयक अघि बढाउन सहज हुनेछ ।
नयाँ संसद् गठन भए पनि इसेनकोटले सरकार बनाउन नसकेसम्म नेतान्याहू र उहाँको मन्त्रिपरिषद् पदमै रहनेछन् । इसेनकोट असफल भए राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहूलाई पुन: सरकार गठनको अवसर दिन सक्नेछन् । (रासस/एपी)





