काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकामा डोनाल्ड ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टी र इजरायलमा बेन्जामिन नेतान्याहूको पराजय अन्तत: साम्राज्यवादकै पराजय भएको निष्कर्ष निकालेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ कात्तिक २३ गते सोमबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो धारणा सार्वजनिक गरेको हो ।
मसालले वक्तव्यमा ट्रम्प र नेतान्याहूको हारको सट्टामा आएका राजनीतिक शक्तिहरू त्यहाँका जनताको वास्तविक विकल्प नभएको पनि स्पष्ट पारेको छ । त्यससँगै त्यहाँका जनताले विकल्प वा परिवर्तन खोजेको स्पष्ट भएको मसालले बताएको छ ।
अमेरिकामा ट्रम्पको इरानमा आक्रमण गर्ने, ग्र्रिनल्यान्ड र क्यानडालाई कब्जा गर्ने, गाजापट्टी कब्जा गर्न इजरायललाई सघाउनेजस्ता नीतिले त्यहाँका जनतामा चरम असन्तुष्टि उत्पन्न भएको तथा त्यही प्रकारको अवस्था इजरायलमा नेतान्याहूको भएको वक्तव्यमा उल्लेख छ ।
पछिल्लो समयमा अमेरिकाले फेरि इरानका विरुद्ध आक्रमण गर्नुलाई वक्तव्यमा चुनावको हारबाट उत्पन्न ट्रम्पको बर्बराहट बताइएको छ । देशभक्तिपूर्ण भावनाको आधारमा उक्त युद्धमा इरानले विजय हासिल गर्ने पनि वक्तव्यमा विश्वास व्यक्त गरिएको छ ।
युरोपमा दैनिक जनजीवनसित सम्बन्धित समस्याका कारणले असन्तोष उत्पन्न भएको र त्यो असन्तोष सरकारका विरुद्ध सोझिएको वक्तव्यमा उल्लेख छ ।
नेपालमा अहिले सत्तासिन शक्ति अस्पष्ट र अस्थिर राजनीतिक चरित्रको भएको वक्तव्यमा उल्लेख छ । आइजिपीको बर्खास्ती, सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरण आरोप लागेका व्यक्तिको मुद्दा फिर्ता, प्रेसमाथिको धरपकडलगायतका विषयमा सरकारको यस्तो चरित्र प्रष्ट भएको वक्तव्यमा उल्लेख छ ।
देश गम्भीर सङ्कटमा परेको ठहर गर्दै त्यसका विरुद्ध वामपन्थी र प्रजातान्त्रिक शक्तिको एकता आवश्यक भएको मसालले स्पष्ट पारेको छ । अर्कोतर्फ, नेपाली कङ्ग्रेसको एउटा पक्ष सहकार्यमा नजाने बताएकोमा वामपन्थी सहकार्यको विकल्प नरहेको मसालको धारणा छ ।
वक्तव्यको अन्तमा साम्राज्यवादको पराजयबाट विश्वभरि समाजवादको भविष्य उज्ज्वल रहेको तथ्यमा जोड दिइएको छ । यसबाट साम्राज्यवादी शक्तिहरू कागजी बाघ हुन् भन्ने स्पष्ट भएको बताउँदै त्यसलाई व्यवहारमा मूर्त रूप दिन संसारभरिका क्रान्तिकारी र साम्राज्यवाद विरोधी शान्तिप्रेमी जनताको सङ्घर्षमा वक्तव्यमा जोड दिइएको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“यही २०८३ कात्तिक २० गते बसेको नेकपा (मसाल) को उपलब्ध पिबिएम र सहयोगीसमेतको नेकपा (मसाल) को केन्द्रीय कार्यालय बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिसम्बन्धी कतिपय प्रश्नबारे छलफल गरी निकालेका निष्कर्षबारे जानकारी दिनको लागि निम्नलिखित वक्तव्य जारी गरिएको छ ।
१. अमेरिकामा भएको मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको नराम्ररी हार भएको छ । ट्रम्पको हार सामान्यत: अमेरिकी साम्राज्यवाद र विशेषत: राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले अपनाउँदै आएका नीतिको हार हो । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले इरानमाथि गरेको आक्रमणबाट स्वयम् अमेरिकाका जनतामा पनि व्यापक असन्तोष उत्पन्न भएको थियो र उनको हारको पछाडि इरानमाथिको आक्रमणले प्रमुख भूमिका खेलेको थियो । उनले विश्वव्यापी रूपमा नै अपनाउने गरेका साम्राज्यवादी नीतिका कारणले पनि उनको ठुलो हार भएको छ । उनले ग्रिनल्यान्डमा कब्जा गर्ने, क्यानडालाई अमेरिकाको एकाउन्नौँ राज्य बनाउने, पानामा नहरलाई कब्जा गर्ने, गाजापट्टीलाई कब्जा गर्ने, इजरायललाई मदत गरेर प्यालेस्टाइनका जनताको ठुलो नरसंहार गर्ने, युक्रेनको दुर्लभ खनिज पदार्थ भएको क्षेत्रलाई हस्तक्षेप गर्ने, संसारका विभिन्न देशबाट अमेरिकामा आयात हुने सामानमा चर्को आयात शुल्क लगाउने, आप्रवासीलाई ठुलो सङ्ख्यामा अमेरिकाबाट निष्काशित गर्ने आदिजस्ता जुन नीति अपनाएका थिए, ती कारणले पनि विश्वव्यापी रूपमा र अमेरिकामा पनि ट्रम्प शासनका विरुद्ध ठुलो जनमत तयार भएको थियो र ती सबैको परिणामस्वरूप नै ट्रम्पको चुनावमा हार भएको हो । उनले विश्वमा शान्ति कायम गर्ने नारा दिएर चुनावमा विजय प्राप्त गरेका थिए । राष्ट्रपतिमा विजय भएपछि उनले आफ्नै प्रतिबद्धताको विरुद्ध कार्य गर्दै गए । त्यसको परिणाम अहिले उनले भोग्नुपरिरहेको छ ।
ट्रम्पका नीतिका कारणले स्वयम् अमेरिकाको मित्रसम्बन्ध भएका देश पनि उनका विरुद्ध हुँदै गए । त्यस सन्दर्भमा सर्वप्रथम नाटोका देश नै आउँछन् । ट्रम्पको शासनकालमा ती देशसितको अमेरिकाको सम्बन्ध धेरै नै बिग्रेर गयो । भारतको अमेरिकासित सधैँ निकट र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ तर ट्रम्पको नीतिले गर्दा अमेरिकाको भारतसितको सम्बन्ध पनि धेरै नै चिसिएर गयो । त्यसरी ट्रम्पले अपनाएका नीतिबाट विश्वव्यापी रूपमा युद्ध, अशान्ति, तनाव र आर्थिक सङ्कट पैदा हुनुको साथै स्वयम् अमेरिकी जनतालाई पनि धेरै नै नोक्सान पुग्यो ।
२. नेपालको सन्दर्भमा पनि अमेरिकाको साम्राज्यवादी नीतिबाट धेरै नै क्षति पुग्न गएको छ । अमेरिकाको खर्च बचाउने नाममा ट्रम्प सत्तामा आएपछि सबैतिर एमसिसीमा लाग्ने खर्च घटाउने नीति अपनाइयो तर नेपालमा एमसिसीको नीतिलाई खारेज गरेर त्यसलाई पुन: लागु गरियो । त्यसबाट नेपाललाई आफ्नो सुरक्षा पङ्क्तिमा राख्ने विषयमा अमेरिका कति धेरै गम्भीर छ ? त्यो कुरा प्रस्ट हुन्छ । नेपाललाई आफ्नो रणनीति पूरा गर्नको लागि त्यसले जेनजीको न्यायपूर्ण र स्वत:स्फूर्त आन्दोलनलाई हाइज्याक गरेर आफ्नो प्रतिनिधि सरकार कायम गर्ने कार्यलाई योजनाबद्ध प्रकारले अगाडि बढाएर सफल पनि पार्यो । त्यसले आफ्नो दलाई लामा रणनीतिलाई सफल पार्न, तिब्बतमाथि आक्रमण गर्न, नेपाललाई युद्धभूमि बनाउन योजनाबद्ध प्रकारले काम गरिरहेको छ । नेपालमा अमेरिकाको कठपुतली सरकारले अपनाइरहेका नीतिबाट अमेरिकाले नेपालमा फासिस्ट शासन कायम गर्नको लागि योजनाबद्ध प्रकारले काम गरेको कुरामा कुनै शङ्का रहन्न ।
३. अमेरिकामा ट्रम्प शासनको नराम्रो हार भएजस्तै इजरायलमा अमेरिकाको कठपुतली र फासिस्ट नेतान्याहू सरकारको चुनावमा नराम्रो हार भएको छ । अमेरिकाले इजरायलसित मिलेर इरानमाथि आक्रमण गरेको थियो र प्यालेस्टाइनी जनतामाथि पनि ठुलो नरसंहार गरिएको थियो । इजरायलको चुनावको परिणामबाट अमेरिका र इजरायलमा भएको चुनावबाट यी दुवै देशका जनता अमेरिकाको साम्राज्यवादी नीति र इजरायलको फासिस्ट नीतिसमेतका विरुद्धमा भएको कुरा प्रस्ट भएको छ । अर्कोतिर ती दुवै देशका जनता युद्धका विरुद्ध पनि भएको कुरा प्रस्ट छ तर समस्या के छ भने ती दुवै देशमा जनताको आवाजको प्रतिनिधित्व गर्ने कुनै राजनीतिक शक्ति छैन र त्यसैले अमेरिकामा ट्रम्प वा रिपब्लिकन पार्टीको पराजय भए पनि त्यहाँ जुन शक्तिको विजय भएको छ, त्यो साम्राज्यवादी शक्ति नै हो । त्यसै गरेर इजरायलमा नेतान्याहु सरकारको पराजय भए पनि त्यहाँ जनताको हितका प्रतिनिधित्व गर्ने कुनै सरकारको स्थापनाको सम्भावना देखिँदैन । अमेरिका र इजरायल दुवै देशका लागि यो गम्भीर राजनीति समस्या हो तैपनि त्यहाँ ट्रम्प र नेतान्याहूका विरुद्ध जसरी जनता व्यापक रूपले सडकमा उत्रिए र यी दुवैलाई पराजित गरे त्यो महत्त्वपूर्ण राजनीतिक उपलब्धि हो ।
४. अहिले युरोपका विभिन्न देशमा व्यापक रूपले आन्दोलन उठिरहेका छन् । यी आन्दोलन कुनै सैद्धान्तिक वा राजनीतिक आधारमा उठेको देखिन्न । ती आन्दोलन खास गरेर दैनिक जीवनसित सम्बन्धित समस्याका कारणले असन्तोष र सरकारप्रतिको विरोधका कारणले नै उठेको देखिन्छ । ती आन्दोलनमा वामपन्थी शक्तिले पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् तर समग्र रूपमा ती आन्दोलनको प्रकृति मूल रूपमा स्वत:स्फूर्त प्रकारको नै रहेको छ र वामपन्थीले त्यो आन्दोलनलाई बाहिरबाट उपयोग मात्र गरिरहेका छन् ।
५. नेपालको अहिलेको राजनीतिक स्थिति पनि अत्यन्त गम्भीर प्रकारको छ । अहिले देशमा जुन शक्तिको शासन छ, उनीहरू कुनै दर्शन वा सिद्धान्तबाट निर्देशित तत्त्व होइनन् र उनीहरूले कुनै नीति वा कार्यक्रमका आधारमा पनि काम गरेको देखिँदैन । त्यसैले उनीहरूले स्वेच्छाचारी प्रकारले आफ्नो कार्यक्रम वा नीति परिवर्तन गरेको पाइन्छ । बालेनले पहिल्यै दलीय राजनीतिको विरोध गर्दै काठमाडौँ महानगरपालिकाको चुनाव जितेका थिए तर पछि प्रधानमन्त्री पद पाउने भएपछि एउटा राजनीतिक दलमा सामेल भएका थिए । पहिले उनले आफ्नो अफिसमा (ग्रेटर नेपाल) को झन्डा राखेर आफूलाई चरम प्रकारको राष्ट्रवादी देखाउने प्रयत्न गरेका थिए तर पछि नेपालले पनि भारतको भूमि मिचेको छ भन्नेजस्तो अभिव्यक्ति दिएर भारतको समर्थन प्राप्त गर्ने कोसिस गरेका थिए । अहिले उनीहरूले भारतसित गोप्य साँठगाँठ बढाउँदै लगिरहेका छन् । उनीहरूको कुनै सैद्धान्तिक वा नीतिगत अडान नहुनुको परिणाम हो कि आफ्ना निहित स्वार्थ पूरा गर्नका लागि उनीहरूले कुनै पनि बेला आफ्ना नीतिहा स्वेच्छाचारी प्रकारले परिवर्तन गर्न सक्दछन् ।
६. नेपालका प्रधानमन्त्रीले छिट्टै भारतको भ्रमण गर्दैछन् । भारतले नेपालको कालापानी क्षेत्रमा कब्जा जमाएको छ । भैरहवा र पोखरा एयरपोर्टका लागि त्यसले कुनै निकास दिएको छैन । यस्ता प्रश्नमा नेपालका प्रधानमन्त्रीले कहाँसम्म दृढ अडान लिनेछन् ? यी कुराहरू उनी भारतबाट फर्केपछि नै थाहा हुनेछ ।
७. सरकारले विभिन्न प्रश्नमा अस्थिर र अस्पष्ट नीति लिने गरेको पाइन्छ । त्यही प्रकारको एउटा विषय आइजिपीसम्बन्धी सरकारको निर्णय हो । त्यसबारे सरकारले आफ्नो स्थिति स्पष्ट गर्नु आवश्यक छ । पत्रकारका गिरफ्तारीको प्रश्नमा पनि सरकारले आफ्नो स्थिति स्पष्ट गर्न सकेको छैन । त्यो कार्यबाट सरकारको अधिनायकवादी चरित्रलाई नै बताउँछ । भ्रष्टाचारको विरोध र विधिको शासनमा जोड दिँदै सत्तामा आएको सरकारले सहकारी ठगीमा बदनाम भएका व्यक्तिलाई उच्च पदमा पुर्याउने गरेको छ भने सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप लागेका व्यक्तिका मुद्दा फिर्ता लिने र त्यस्ता आरोप लागेका व्यक्तिलाई निलम्बनमा राख्ने प्रचलित कानुन वा नियममा छुट दिएर त्यस्ता व्यक्तिलाई विशेष सुविधा दिने काम गरिएको छ । सरकारको त्यस प्रकारको कार्यप्रणालीबाट वर्तमान सरकार निष्पक्ष र जनताप्रति जिम्मेवार नभएको कुरा नै देखिन्छ ।
८. उपर्युक्त कारणबाट देश गम्भीर सङ्कटको मुखमा पुगेको देखिन्छ । त्यस्तो अवस्थामा जनताको महान् सङ्घर्ष वा त्याग र बलिदानबाट प्राप्त गणतन्त्र वा धर्मनिरपेक्षताजस्ता महान् उपलब्धि तथा देशको राष्ट्रियता, सार्वभौमिकता र शान्तिसुव्यवस्थाको रक्षाका लागि शक्तिशाली आन्दोलन उठाउनु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिका बिचमा व्यापक एकताको आवश्यकता छ । त्यो कार्यको लागि कम्युनिस्टहरू अग्रिम पङ्क्तिमा आउनुपर्ने आवश्यकता छ । निश्चय नै अहिलेको अवस्थामा सबै कम्युनिस्टका बिचमा पार्टीएकता भएर एकीकृत कम्युनिस्ट पार्टीको निर्माणको सम्भावना छैन तैपनि वामपन्थीका बिचमा अधिकतम तालमेल गर्नुको लागि पहलकदमी गर्नुपर्ने आवश्यकता छ ।
देशमा निरङ्कुश शासनको अन्त्य वा गणतन्त्र, धर्मनिरपेक्षता ल्याउने कार्यमा प्रजातान्त्रिक शक्तिको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । त्यस प्रकारको प्रजातान्त्रिक शक्ति भन्नाले मुख्य रूपले नेपाली काङ्ग्रेस नै आउँछ तर अहिले त्यसको एउटा पक्षले कसैसित तालमेल वा कार्यगत एकता नगर्ने र एक्लै जाने नीति अपनाएको छ भने अर्को पक्षको सङ्गठनात्मक स्वरूपले स्पष्ट आकार लिइसकेको छैन । त्यो अवस्थामा वामपन्थीका बिचको तालमेल नै अहिलेको प्रमुख विषय बन्न जान्छ तर वामपन्थीका बिचमा पनि विभिन्न नीतिगत प्रश्नमा कैयौँ मतभिन्नता छन् र कार्यगत एकताको प्रश्नमा पनि सबैका सोचाइ एकै प्रकारका छैनन् तैपनि ती सीमाका बाबजुद वामपन्थीको बिचमा अधिकतम समझदारी वा सहमतिको लागि प्रयत्न गर्नुपर्छ किनभने त्योबाहेक देशमा तत्काल अन्य कुनै विकल्प देखिँदैन ।
९. यो वक्तव्य तयार भइसकेपछि विश्वको राजनीतिमा आएका केही परिवर्तहरूबारे पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेको छ र त्यसलाई पूरै ध्वस्त गर्ने घोषणा गरेको छ । त्यसले ट्रम्पले अमेरिकामा भएको चुनावको हारबाट उनमा देखा परेको बर्बराहटलाई नै बताउँछ तर हामीलाई विश्वास छ, इरानी जनताले दृढतापूर्ण प्रतिरोधद्वारा अमेरिकी साम्राज्यवादको आक्रमणलाई असफल पारिदिनेछन् । विश्वभरिका साम्राज्यवाद र युद्धविरोधी तथा शान्तिप्रेमी जनताले पनि अमेरिकी साम्राज्यवादका विरुद्धको इरानी जनताको न्यायपूर्ण सङ्घर्षलाई दृढतापूर्वक साथ दिनेछन् भन्ने हामीले विश्वास गरेका छौँ ।
यो वक्तव्य जारी गर्ने बेलासम्म इजरायलका प्रधानमन्त्री नेतान्याहू पनि अपदस्त हुने कुरा करिबकरिब निश्चित भइसकेको छ । निश्चय नै त्यसका ठाउँमा आउने नयाँ सरकारले जनताका भावनाको प्रतिनिधित्व गर्ने कम सम्भावना देखिन्छ तैपनि नेतान्याहूको पराजय इजरायलका जनताको विजय हो । त्यसबाट इजरायलका जनता युद्धका विरुद्ध, शान्तिका पक्षमा तथा फासिवादी शासनका विरुद्ध छन् भन्ने कुरा प्रष्ट भएको छ । इजरायलका जनताको त्यस प्रकारको सफलतालाई हामीले इजरायली जनतालाई बधाइ दिन्छौँ । हाम्रो यो विश्वास छ कि प्यालिस्टाइनी र इजरायली जनताको ऐक्यबद्धता तथा साम्राज्यवाद र फासीवादका विरुद्धको उनीहरूको एकताबद्ध सङ्घर्षले नै इजारायलको दीर्घकालीन हित र विश्वको शान्तिमा मदत पुर्याउनेछ भन्ने हामीले आशा र विश्वास गरेका छौँ । नेतान्याहूको पराजय ट्रम्प र अमेरिकी साम्राज्यवादको पनि पराजय हो । त्यसबाट अन्तत: साम्राजयवाद बाहिरबाट जति शक्तिशालीजस्तो देखिए पनि अन्तमा त्यो कागजी बाघ हो र त्यसको पराजय निश्चित छ भन्ने कुरा प्रष्ट हुन्छ । अहिले संसारका विभिन्न देशमा दक्षिणपन्थी शक्तिको एकपछि अर्को गर्दै पराजय हुँदै गइरहेको छ । त्यो संसारको लागि एउटा शुभसङ्केत हो । त्यसकारण विश्वमा समाजवादको भविष्य उज्ज्वल छ भन्ने कुराको कुनै शङ्का रहन्न यद्यपि त्यसका लागि संसारभरिका क्रान्तिकारी तथा साम्राज्यवाद विरोधी र शान्तिप्रेमी जनताले लामो सङ्घर्ष तथा त्याग र बलिदान गर्नुपर्नेछ ।”





