काठमाडौँ । राष्ट्रिय जनमोर्चा, रक्तिम सांस्कृतिक अभियानलगायत मसालसम्बद्ध भाइचारा सङ्गठनको आयोजनामा यस वर्षको प्रगतिशील देउसीभैलो सुरु भएको छ ।
कतिपय जिल्लामा केही दिनअघि नै कार्यकर्ता भेटघाटको रूपमा सञ्चालन भइरहेको देउसीभैलो काठमाडौँमा आजदेखि सुरु भएको छ भने अर्घाखाँचीमा एकादशी अर्थात् मङ्सिर ४ गतेसम्म चल्ने भएको हो ।
दाङ
दाङको घोराहीमा रक्तिम केन्द्रीय समितिको आयोजनामा देउसीभैलो कार्यक्रम सम्पन्न हुँदैछ । आज शनिबार त्यहाँ भैलो व्यवस्थापनसम्बन्धी भेला सम्पन्न भएको छ ।
रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाका अनुसार दाङमा भोलि कात्तिक २२ गतेदेखि घोराही उपमहानगरपालिकाका विभिन्न वडामा भैलो खेलिने भएको छ । उहाँले कात्तिक २७ गतेसम्म भैलो खेल्ने कार्यक्रम बनेको बताउनुभयो ।
भैलो सम्पन्न गर्नका लागि अध्यक्ष बुढासँगै वरिष्ठ उपाध्यक्ष जीवन शाही, केन्द्रीय सल्लाहकार थुमराज ढुङ्गाना, केन्द्रीय नेताहरू दीप गोले, हरि सर्तुङीलगायतको केन्द्रीय टिम दाङ पुगिसकेको छ ।
त्यहाँ हप्तादिन अघिदेखि नै रक्तिम भैलोको तालिम सञ्चालन गरेको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
प्युठान
प्युठानका छओटा स्थानीय तहमा राजमो र रक्तिमको सहकार्यमा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन हुने भएको छ ।
मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, प्युठान नगरपालिका, झिमरुक नगरपालिका र गौमुखी गाउँपालिकामा भैलो सञ्चालन हुने भएको हो ।
राजमो नेता सुरेश थापाका अनुसार राजमो र रक्तिमले भोलि कात्तिक २२ गतेदेखि भाइटीका अर्थात कात्तिक २५ गतेसम्म प्युठानका विभिन्न पालिकामा भैलो खेलिनेछ ।
भैलोमा मसालसम्बद्ध सबै जनवर्गीय सङ्गठनका नेताकार्यकर्ताको उपस्थिति रहेने उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ
काठमाडौँमा राजमो र रक्तिम जिल्ला समितिको आयोजनामा आज कात्तिक २१ गतेबाट भैलो कार्यक्रम सुरु भएको छ । राजमो सल्लाहकार आनन्द शर्माको नेतृत्वमा सुरु भएको सो अभियानमा रक्तिमका महासचिव हेमराज आश्रमको नेतृत्वमा रक्तिमका कलाकार टोली संलग्न रहेको छ ।
आज ललितपुरको बालकुमारीबाट भैलो खेल्न सुरु गरिएकोमा भोलिदेखि सो टोलीले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भैलो खेल्ने राजमो काठमाडौँका सचिव छवि खनालले जानकारी गराउनुभयो ।
उहाँका अनुसार रक्तिमका पूर्व केन्द्रीय सदस्य जीवन पुन, नृत्य प्रशिक्षक सतिस कुँवरसँगै करिब दुई दर्जन कलाकार टोलीसहित राजमोको भैलो टोली आगामी केही दिन उपत्यकाभरि भैलो खेल्ने भएको हो ।

रुपन्देही
रुपन्देहीका न्यूनतम तीनोटा पालिकामा राजमोले भैलो खेल्ने तयारी गरेको बताइएको छ । भैलोको ठोस योजना बनाउनका लागि भोलि जिल्ला समितिको बैठक आयोजना गरिएको राजमो नेता चेतनाथ आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुटवल उपमहानगरपालिकाका विभिन्न वडा तथा तिलोत्तमा नगरपाकालिका विभिन्न वडामा भैलो खेल्ले निश्चित भइसकेको छ भने अन्य स्थानका लागि पनि भैलोको योजना बनिरहेको छ ।
आचार्यका अनुसार लक्ष्मीपूजा अर्थात कात्तिक २२ गतेदेखि भाइटीकाको भोलिपल्ट कात्तिक २६ गतेसम्म रुपन्देहीका विभिन्न स्थानमा भैलो खेलिनेछ ।
उहाँका अनुसार मुख्यत: कार्यकर्ता भेटघाटको रूपमा यसपटकको रुपन्देहीको भैलो सञ्चालन हुनेछ ।

अर्घाखाँची
अर्घाखाँचीमा प्रगतिशील देउसीभैलो फरकफरक समयमा खेलिने भएको छ । त्यहाँ भूमिकास्थान र मालारानीमा भाइटीकादेखि नै भैलो खेलिनेछ भने सन्धिखर्कमा पछि खेलिनेछ ।
राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीका अनुसार सन्धिखर्क नगरपालिकामा भने अष्टमी अर्थात् मङ्सिर १ गतेदेखि भैलो सुरु हुनेछ । त्यसको समापन एकादशी अर्थात मङ्सिर ४ गते समापन हुनेछ ।’
जिल्लाअध्यक्ष केसीले भन्नुभयो– ‘सधैँजसो एकादशीसम्म सन्धिखर्कमा भव्य रूपमा भैलो खेल्ने प्रचलन छ । यस वर्ष पनि हामीले भव्य रूपमा भैलो कार्यक्रम सम्पन्न गर्नेछौँ ।’
भैलो कार्यक्रममा राजमो, रक्तिमसँगै विभिन्न भाइचारा सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

बागलुङ
बागलुङका विभिन्न पालिकामा अहिले प्रगतिशील देउसीभैलो सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ । राजमो बागलुङका अध्यक्ष तिलक थापाले सो जानकारी दिनुभएको हो ।
उहाँले युगदर्शनसित भन्नुभयो– ‘बागलुङका विभिन्न जिल्लामा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भइरहेका छन् । कार्यक्रमको विवरण हामी पछि उपलब्ध गराउनेछौँ ।’
नवलपरासी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का राजमोले देउसीभैलो खेल्ने योजना बनाएको जानकारी प्राप्त भएको छ ।
राजमो नेता तिलक सुवेदीका अनुसार राजमो जिल्ला समितिको आयोजनामा लक्ष्मीपूजाको भोलिपल्टदेखि भाइटीकासम्म देउसीभैलो खेल्ने योजना बनेको छ ।
सुवेदीले भन्नुभयो– ‘राजमो जिल्ला समितिका साथीहरूको सहभागितामा जिल्लाका विभिन्न स्थानमा हामीले भैलो खेल्ने योजना बनाएका छौँ ।’
नवलपरासीमा मुख्यत: तिहारको अवसरमा नेताकार्यकर्ताको माझमा भेटघाटलाई प्राथमिकता दिइनेछ ।
कपिलवस्तु
कपिलवस्तुमा अखिल नेपाल जनजाति सम्मेलन, रक्तिम र जातीय समता समाजको आयोजनामा प्रगतिशील देउसीभैलो खेल्ने योजना बनेको छ ।
आजको भैलो व्यवस्थापनसम्बन्धी बैठकबाट जानकारी दिँदै राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले भोलि चन्द्रौटाबाट देउसीभैलो कार्यक्रमको उद्घाटन गरिनेछ ।
‘चन्द्रौटाबाट भोलि उद्घाटन गरी भैलो सुरु गर्नेछौँ’ उहाँले भन्नुभयो– ‘चन्द्रौटाबाट सुरु गरेर उक्त भैलो बुद्धभूमि नगरपालिका र बाणगङ्गा नगरपालिकाका विभिन्न वडामा सम्पन्न हुनेछ ।’
उहाँले तिहारको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेसम्म देउसीभैलो कार्यक्रम अगाडि बढ्नेछ ।
पाल्पा
पाल्पाको तिनाउ गाउँपालिकामा प्रगतिशील भैलो खेल्ने तयारी भइरहेको राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यहाँ केही दिन अघिदेखि रक्तिमका टोलीले भैलोको तयारी गरिरहेको थियो । रक्तिमका पूर्व केन्द्रीय सचिव सचित्र केसीले त्यहाँ प्रशिक्षण दिनुभएको थियो ।
जिल्ला अध्यक्ष दर्लामीले त्यहाँको भैलोको कार्यतालिकाबारे भने पछि जानकारी दिने बताउनुभयो ।
नवलपुर
नवलपुरका विभिन्न पालिकामा प्रगतिशील देउसीभैलो खेल्ने कार्यक्रम बनेको छ । त्यहाँ न्यूनतम पाँचोटा पालिकामा भैलो खेल्ने कार्यक्रम बनेको छ ।
मसालको नवलपुर जिल्ला प्रवक्ता चन्द्र सापकोटाका अनुसार त्यहाँका गैँडाकोट नगरपालिकासँगै देवचुली गाउँपालिका, कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिकालगायतका स्थानमा भैलो खेलिनेछ ।
कात्तिक २३ गतेदेखि सुरु हुने भैलो लगातार चार दिनसम्म चल्ने जानकारी दिँदै सापकोटाले उक्त कार्यक्रममा राजमो र रक्तिमका कलाकारको सक्रियता रहने बताउनुभयो ।
चितवन
चितवनमा राजमो जिल्ला समितिको आयोजनामा देउसीभैलो कार्यक्रमचलिरहेको छ । मुख्यत: कार्यकर्ता स्तरमा उक्त भैलो खेलिएको हो ।
राजमो केन्द्रीय सदस्य डम्मर पुरीका अनुसार त्यहाँको भैलो कात्तिक १९ गतेदेखि नै सुरु भएको छ । उक्त भैलो कात्तिक २३ गतेसम्म चल्ने भएको छ ।
राजमो नेता पुरीका अनुसार मुख्यत: राजमो नेताकार्यकर्ताको सहभागितमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।





