खिमराज चालिसे, चंडीगढ (भारत) ।
मोरङ जिल्लाका एक युवकले भारतको पञ्जावमा आत्महत्या गरेका छन् । उर्लाबारी नगरपालिका–७ ओलाबारीका राहुल भनिने २२ वर्षीय दुर्गा शर्माले सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् ।
पञ्जाबको मानसा जिल्ला अन्तर्गत सरदुलगढमा फास्टफुडको काम गर्ने शर्माले नगरनिगमको सदस्य एवं राजनैतिक व्यक्तिले आफूलाई मानसिक उत्पीडन गर्दै प्रतिदिन दुई हजार रुपैयाँ कमिशन मागेको सुसाइड नोटमा उल्लेख गरेका छन् ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले घटनाको निश्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
सो सम्बन्धी जानकारी प्राप्त हुनासाथ मूलप्रवाह संगरूर नगर समितिका अध्यक्ष खेमराज पोखरेल र उपाध्यक्ष नारायण भुसाल तथा मान्सा नगर समितिका बिष्णु नेपाली र किशन नेपाली घटनास्थल पुग्नुभएको थियो । त्यसबारे उहाँहरुले प्रहरी, स्थानीयबासी तथा सामाजिक व्यक्तिहरुलाई भेटेर आत्महत्याको कारणबारे जानकारी लिनुभएको छ ।
मूलप्रवाहले प्रहरीबाट एफआईआर कपी लिनुका साथै प्रहरी थानाअध्यक्ष (एसएचओ)लाई भेटेर उक्त घटनाको निश्पक्ष र छिटो जाँच गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
संगरुरबाट मूलप्रवाहका नेता खेमराज पोखरेलले दिएको जानकारी अनुसार आरोपीलाई २ दिन भित्र नै गिरफ्तार गरी आवश्यक कारबाही गरिने थानाअध्यक्षले आश्वासन दिएका छन् ।

