भरतपुर । चाडपर्वसँगै अन्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अन्डाको समर्थन मूल्य बढाएको हो ।
यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अन्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए ।
नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठुलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अन्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।
अध्यक्ष पोखरेलले कात्तिक ६ गते रु तीन हजार सात सय रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अन्डाको समर्थन मूल्य अब रु तीन हजार नौ सय पुगेको छ । १३.५ देखि १३.८ किलोको ठुलो अन्डाको समर्थन मूल्य रु तीन हजार छ सयबाट बढेर रु तीन हजार आठ सय पुगेको छ ।
१२.५ देखि १२.८ किलोको मिडियम अन्डाको समर्थन मूल्य रु तीन हजार पाँच सयबाट बढेर रु तीन हजार सात सय पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए । एघार किलोभन्दा माथिको सानो अन्डाको समर्थन मूल्य भने रु तीन हजार एक सयबाट बढेर रु तीन हजार दुई सय पुगेको छ ।
उपभोक्ता मूल्य ठुलो अन्डा प्रतिगोटा रु २५ र मिडियम अन्डाप्रति दुई ओटाको रु ४५ कायम गरिएको छ । फार्म मूल्य प्रतिपेटी रु दुई सय बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको उनले बताए । पर्वसँगै चिसो सुरु भएपछि बजारमा खपत बढेका कारण होलसेल मूल्य बढाइएको उनले बतए ।





