काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बुढीगण्डकी करिडोरमा भएको बिपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो बेला स्पष्ट जिम्मेवारीसहित छोटो चेन अफ कमान्ड आवश्यक रहेको बताएका छन् ।
भोटेकोशी एवम् कालीगण्डकी करिडोर बिपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उनले बिपद् प्रतिकार्यमा विगतको तुलनामा यसपटक समन्वयमा केही सुधार भए पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
प्रधानसेनापति सिग्देलले बिपद्को प्रकृति र जिम्मेवारीअनुसार क्याटोगोरी छुट्याएर स्पष्ट गर्नुपर्ने तथा लामो चेन अफ कमान्डले प्रतिकार्यमा ढिलाइ हुने भएकाले छरितो कमाण्ड संरचना आवश्यक रहेको बताए ।
बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ र नियमावली–२०७६ ले विभिन्न निकायलाई समन्वयकारी भूमिका दिए पनि आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालन कार्यविधि–२०८२ मा स्पष्ट चेन अफ कमान्ड नतोकिँदा फिल्डमा प्रतिकार्यको नेतृत्व कसले गर्ने भन्नेमा प्रारम्भिक चरणमा सेना, सुरक्षा तथा नागरिक निकायबिच सञ्चालनगत द्विविधा देखिएको अनुभव उनले सुनाए ।
भोटेकोशी बाढीपछि ३५ नटिकल माइल क्षेत्रमा २१ ओटा हेलिकप्टर परिचालन गरिँदा हवाई क्षेत्र व्यवस्थापनमा कठिनाइ भएको बताउँदै प्रधानसेनापति सिग्देलले अनावश्यक ड्रोन उडानले उद्धार कार्यमा समस्या सिर्जना गरेकाले त्यस्तो समयमा प्रभावकारी एयरस्पेस म्यानेजमेन्टको आवश्यकता महसुस भएको उल्लेख गरे ।
सेनाको विद्यमान हवाई क्षमताको एकीकृत विकास गरिनुपर्ने बताउँदै उनले सेनाका एयरबेसलाई थप सुदृढ गर्दै आवश्यकताअनुसार जहाज तथा हेलिकप्टर थप्न सुझाव दिए । सेनाको हवाई क्षमतालाई राष्ट्रिय सम्पत्तिका रूपमा उच्चतम स्तरमा राख्नुपर्ने उनको सुझाव थियो ।
निजी हवाई कम्पनीमा कार्यरत पाइलटमध्ये करिब ३५ देखि ४० प्रतिशत र प्राविधिक जनशक्तिमध्ये करिब ८० प्रतिशत नेपाली सेनाकै अनुभवी जनशक्ति रहेको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले सेनाको विद्यमान हवाई क्षमता कमजोर हुन नदिन स्तरोन्नति आवश्यक रहेको बताए ।
प्रत्येक प्रदेशमा न्यूनतम आवश्यकता पूरा हुनेगरी स्थान पहिचान गरी बिपद्का समयमा आवश्यक परे तत्काल शिविर सञ्चालन गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
बिपद्को बहुजोखिम मूल्याङ्कन तथा नक्साङ्कनपछि मात्रै विकास आयोजना सञ्चालन गर्न तथा निर्माण भइसकेका आयोजनालाई आवश्यकताअनुसार पुन:स्थानान्तरण गर्न सेनाको सुझाव थियो ।
बिपद्का बेला सुरुङ तथा जलमग्न संरचनामा तत्काल उद्धारका लागि विशिष्टीकृत टोली, क्षति तथा आवश्यकता मूल्याङ्कन टोली र आवश्यक उपकरण तयारी अवस्थामा राख्नुपर्ने बताउँदै प्रधानसेनापति सिग्देलले उच्च क्षमताका स्लज पम्प, सोलार प्रणाली, सीमित स्थानमा श्वासप्रश्वासका लागि प्रयोग हुने उपकरण, सुरुङ सञ्चार प्रणाली तथा थर्मल/लिडार ड्रोनजस्ता उपकरण आवश्यक रहेको बताए ।





