काठमाडौं । प्रहरीले हातहतियारको कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ ।
प्रहरीले एकजनालाई काठमाडौंको माछापोखरी र अर्का एकलाई नुवाकोटबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र लिपु गाउँपालिका–१ घर भएका अमर तामाङ छन् ।
प्रहरीका अनुसार उनीहरु हतियार कारोबारी हुन् । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले पक्राउ परेका तामाङ यस अघि पनि पक्राउ परी जेल सजाय काटिसकेको जानकारी दिनुभयो ।
‘उनीहरु कारोबारी नै हुन् । तामाङ यसअघि पक्राउ परी डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत फागुन २२ गते छुटेका थिए’ एसपी कार्कीले युगदर्शनसँग भन्नुभयो ।
तामाङले दिएको हतियार लिएर काठमाडौं आउने क्रममा पण्डित पक्राउ परेका थिए । पण्डितले दिएको सूचनाका आधारमा महाशाखाको टोलीले तामाङलाई उनकै घरबाट पक्राउ गरेको हो ।

