काठमाडौँ । बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावस्वरूप नेपालका विभिन्न स्थानमा भारी वर्षाभन्दा पनि उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ ।
नेपालमा कात्तिक १२ गते बिहीबार बेलुकादेखि शनिवारसम्म प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान गरिएको हो ।
नेपाल मौसम विज्ञान विभागले आत्तिनुनपर्ने तर सतर्क भने हुनुपर्ने अवस्था रहेको जाननकारी दिएको छ ।
विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले पर्याप्त जलवाष्पयुक्त हावा बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको हो ।
‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ’ पोखरेलले भनिन् ।
पछिल्लो पूर्वानुमानअनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ यद्यपि प्रणाली नेपाल नजिक आइपुग्दासम्म कमजोर भए वर्षाको प्रभाव कम हुन सक्ने र अपेक्षाकृत शक्तिशाली रहे प्रभाव बढ्न सक्ने पोखरेलले बताइन् ।
उनका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । हिमाली क्षेत्रमा पर्यटकीय गतिविधिमा संलग्न व्यक्ति बढी जोखिममा पर्न सक्ने भएकाले सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिइन् ।
पहिरोको जोखिम भएका स्थान तथा सडकखण्डमा यात्रा गर्दा पनि सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न उनले आग्रह गरिन् ।
यता वर्षाले कृषिक्षेत्रमा असर पार्न सक्ने देखिएको छ । अहिले धान काट्ने समय भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषिकार्यको योजना बनाउनुपर्ने पोखरेलले बताइन् ।
धान काट्नुअघि मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक सूचना र पूर्वानुमान हेर्न उनले किसानलाई आग्रह गरिन् ।
चक्रवातको अवशेषको गति, दिशा र तीव्रताअनुसार वर्षा हुने समय तथा प्रभाव फरक पर्न सक्ने भएकाले प्रणालीको निरन्तर अनुगमन आवश्यक रहेको उनको भनाइ छ । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले पनि आवश्यक सतर्कता अपनाउनुपर्ने उनले बताइन् ।
पोस्टमनसुनमा वर्षा हुनु सामान्य
मनसुन सकिएपछि सुरु हुने पोस्ट–मनसुन अवधिमा पनि वर्षा हुनु सामान्य प्रक्रिया भएको पोखरेलले बताइन् । नेपालमा अक्टोबर र नोभेम्बर सामान्यतया मौसम सफा रहने महिना भए पनि यही समयमा बंगालको खाडी र अरब सागरमा चक्रवात विकसित हुने सम्भावना रहन्छ ।
समुद्रमा विकसित हुने सबै चक्रवात वा न्यून चापीय प्रणाली नेपालसम्म आइपुग्दैनन् तर केही प्रणाली उत्तर वा उत्तरपश्चिमतर्फ सर्दै नेपाल नजिक आइपुग्दा वर्षा गराउन सक्छन् । यस्ता प्रणालीले उच्च हिमाली क्षेत्रमा हिमपातसमेत गराउन सक्ने उनले बताइन् ।
‘यस्ता घटना यसअघि पनि भएका छन् । त्यसैले अहिले नै नयाँ घटना भयो भन्ने होइन’ पोखरेलले भनिन् ।
जलवायु परिवर्तनले नयाँ मौसमी घटना मात्रै सिर्जना गर्ने नभई पहिले पनि हुने गरेका घटनाको आवृत्ति र तीव्रतामा समेत प्रभाव पार्न सक्ने उनको भनाइ छ । त्यसैले यस्ता मौसमी घटनाको नियमित अध्ययन र अनुगमन आवश्यक रहेको उनले बताइन् ।





