जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्काले रास्वपा धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
यादवले एक कार्यक्रममा एसपी खड्कालाई भ्रष्टाचारी, घुसखोरी र दलाल भन्दै आलोचना गरेका थिए। त्यसप्रति आपत्ति जनाउँदै खड्काले जारी गरेको विज्ञप्तिमा आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्याउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको उल्लेख गरेका छन्।
विज्ञप्तिअनुसार यादवले हराएकी महिला सदस्यको खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। तर, अनुसन्धानका क्रममा ती महिला अदालतबाट विवाहको नाता कायम भएपछि आफ्ना पतिसँग गएको खुलेको प्रहरीले जनाएको छ। महिलालाई पक्राउ गरी जबर्जस्ती छुटाउन दबाब दिएको र माग पूरा नभए प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएको दाबीसमेत विज्ञप्तिमा गरिएको छ।
खड्काले आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाणबिना कसैको प्रतिष्ठामा आँच पुर्याउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेका छन्।






