बुटवल । पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सरायनाच बुटवलमा प्रदर्शन गरिएको छ ।
‘बुझौँ हामीले रीतिथिति, जोगाऔँ हाम्रो संस्कृति’ भन्ने मूल नारासहित श्री नवदुर्गा मन्दिर पूजा समितिले कार्यक्रम आयोजना गरेको हो ।
अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले २०८३ कात्तिक ९ गते बुटवलको देवीनगरस्थित वाणिज्य क्याम्पस परिसरमा सरायनाच प्रदर्शन गरेका हुन् ।
समितिका संरक्षक तथा संयोजक अर्जुन कुँवरले विगत १७ वर्षदेखि निरन्तर सरायनाच प्रदर्शन हुँदै आएको बताए । आधुनिकतासँगै मौलिक संस्कृति लोप हुने जोखिम बढेकाले नयाँ पुस्तालाई परम्परा र संस्कृतिबारे परिचित गराउन नाचलाई निरन्तरता दिइएको उनले बताए ।
बडाबडादसैँदेखि कोजाग्रत पूर्णिमासम्म पहाडी जिल्लामा नाचिने सरायलाई देवी भगवतीको विजय उत्सवका रूपमा लिने परम्परा छ । नाचका क्रममा पञ्चेबाजाको तालमा सहभागी गोलाकार रूपमा घुम्दै हातमा हतियार लिएर नाच्ने गर्छन् । एकअर्काका हतियार जुधाएर लयात्मक आवाज निकाल्दै नाचिने यस नाचले धार्मिक आस्था र सामूहिक उत्सवलाई प्रतिबिम्बित गर्छ ।
समितिका अध्यक्ष कुलबहादुर केसीले दुर्घटनाको जोखिम कम गर्न नाचमा काठका हतियार प्रयोग गरिएको बताए ।
गाउँघरको परम्परा जोगाउन तथा युवा पुस्तामा सांस्कृतिक चेतना बढाउन बुटवलमा कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।
देवीनगरस्थित मन्दिर परिसरमा हरेक वर्ष आयोजना गरिने कार्यक्रममा विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।





