भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नख: मनाएका छन् । बडादसैँका दिन आज मान्यजनको हातबाट मोहनी सि:नं अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी न:ख मनाएका हुन् ।
यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिबाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सि:नं (कालो टीका) बनाएका हुन्छन् ।
बडादसैँको दिन बल र विजयीको प्रतीकको रूपमा रातो अक्षता, जमरा र निधारको बिचमा मोहनी सि:नं अर्थात कालो टीका लगाएर बडादसैँ मोहिनी नख: मनाएको भक्तपुरका संस्कृतकर्मी प्रकाश कायस्थले जानकारी दिए ।
मोहनी सि:नं लाई तान्त्रिक शक्ति, मोहनी शक्तिको रूपमा लिने परम्परा रहेको टीकाको दिन घरघरमा कालो टीका अर्थात मोहनी सि:नं लगाएपछि घरघरबाट ब्रह्मायणी मन्दिरमा पूजा लिएर दर्शन गर्न जाने परम्पराअनुसार आज दिनभर र रातिसम्म भक्तपुरको ब्रह्मायणी मन्दिरमा भव्य मेला लागेको छ ।
ब्रह्मायणी मन्दिरमा हजारौ दर्शनार्थीले आज बाजागाजासहित शक्तिपीठको रूपमा रहेको ब्रह्मायणी देवीको रूपमा पूजा एवम् दर्शन गर्ने जानकारी दिँदै उनले कालो टीकालाई धार्मिक, संस्कृति र तान्त्रिक शक्तिको रूपमा नेवार समुदायले ग्रहण गर्ने गरेको संस्कृतिविद कायस्थले जानकारी दिए ।
आज मध्यराति तलेजुमा खड्गजात्रा सम्पन्न भएपछि मात्रै मोहनी नख: सम्पन्न हुने उनले जानकारी दिए । राति ब्रह्मायणीबाट नवदुर्गा देवगण तलेजु आएर नवदुर्गाको दिदी तलेजुलाई ढोग गरी मन्त्रसिद्ध गरेपछि नवदुर्गा र खड्गजात्रा गरी तलेजुलाई बोकेर भव्य जात्रा गरी तलेजुको बाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मोहनी नख: सम्पन्न हुने उनले जानकारी दिए ।
मोहनी नख: कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य भने छैन । बडादसैँंमा अवसरमा खड्गयात्रा (पाया:) को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मान्यता रहँदै आएको छ ।
मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्ह: हो । मोहनीका बेला नेवार निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ ।
राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नख: मनाउन थालिएको भन्ने भनाइ पनि रहदै आएको छ । त्यसो त बौद्ध धर्मावलम्बीले पनि मोहनी नख: फरक महत्त्वका साथ मनाउने गरेका छन् ।





