काठमाडौँ । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरूले मनाएका हुन् ।
नेपाली पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् ।
नेपाल भ्रमणमा आएका पर्यटकका लागि बडादसैँको टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर बनेको छ ।
पछिल्लो समय विदेशी पर्यटकले नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर नेपाली संस्कार र परम्परा अनुसारका पर्व एवम् उत्सव मनाउने गरेका छन् ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवम् काठमाडौँ इकोहोटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।
ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैँले नेपाली र विदेशीबिच आपसी सद्भाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।





