काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई समर्थन गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहूलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उनको पुन:निर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका हुन् ।
नेतान्याहूले पनि ट्रम्पलाई धन्यवाद दिँदै इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताए ।
इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहूलाई साथ दिएका थिए तर युद्धको विरोध र तेलको मूल्यवृद्धिबिच उनी अप्रिलमा युद्धविराम गर्न सहमत भएका थिए ।
इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहूको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबिच मतभेदसमेत देखिएको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले नेतान्याहूले अमेरिकालाई अर्को युद्धमा धकेल्न खोजेको आरोप लगाए ।
अक्टोबर ७, २०२३ मा हमासले गरेको आक्रमणपछि इजरायलमा हुन लागेको पहिलो चुनावमा नेतान्याहूले त्यसको जिम्मेवारी लिनुपर्ने विपक्षीको माग छ । उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले इजरायलको नेता छान्ने अधिकार त्यहाँका नागरिकमा मात्रै रहेको बताए ।
करिब ७० लाख मतदाता सहभागी हुने चुनावमा कुनै पनि पक्षले १२० सदस्यीय संसद्मा सरकार गठनका लागि आवश्यक ६१ सिट जित्ने स्पष्ट सङ्केत नदेखिएको सर्वेक्षणले जनाएका छन् ।
इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहू २०२२ डिसेम्बरमा पुन: सत्तामा फर्किएका हुन् । चुनावअघि ट्रम्पले नेतान्याहूबाहेक अरूलाई निर्वाचित नगर्न मतदातालाई आग्रह गर्दै उनका प्रतिस्पर्धी विजयी भए अमेरिकाले इजरायलका लागि आवश्यक काम आफैँ गर्नुपर्ने बताए ।





