काठमाडौँ । अमेरिकामा करिब एक शताब्दी पूर्वदेखि रोकिएको मृत्युदण्ड ब्युँताइँदैछ । आगामी डिसेम्बरमा एक जना अमेरिकलाई मृत्युदण्ड दिइने घोषणासँगै यस्तो निष्कर्ष निकालिएको हो ।
अगस्त १४, १९३६ का दिन एक श्वेत वृद्ध विधवाको बलात्कार र हत्याको अभियोगमा दोषी ठहरिएका अश्वेत पुरुषलाई सार्वजनिक रूपमा फाँसी दिइएको थियो । बिहान ५ बजे फाँसी दिँदा त्यहाँ करिब २० हजार दर्शक उपस्थित थिए ।
उमेरले २० काटेका एक अनाथ युवा रेनी बेथियालाई ७० वर्षीय लिसिया एडवड्र्सको लुटपाट, बलात्कार र हत्या गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । त्यो अमेरिकाको हालसम्मकै अन्तिम चर्चित सार्वजनिक फाँसी थियो ।
बेथियाको मृत्युसँग जोडिएको तमासाले धेरै मानिसलाई लज्जित बनायो । त्यसको १८ महिनापछि गभर्नरले सार्वजनिक मृत्युदण्डमाथि प्रतिबन्ध लगाए ।
त्यतिन्जेलसम्म सामाजिक दृष्टिकोणमा मानवीय र गोप्य विधिको खोजी हुन थालेपछि धेरैजसो राज्यले सार्वजनिक रूपमा मृत्युदण्ड दिने परम्परा खारेज गरिसकेका थिए, यद्यपि सन् १९३७ मा मिजुरीमा पनि केही सय मानिसको उपस्थितिमा अर्को फाँसी दिइएको थियो ।
अहिले किन कुरा उठ्यो ?
बेथियाको हत्या भएको ९० वर्षपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सन् २००९ मा टेक्ससको फोर्टहुड सैन्य आधार शिविरमा १३ जना नि:शस्त्र सहकर्मी सैनिकको हत्या गर्ने निदाल हसनलाई सेनाले सार्वजनिक रूपमा मृत्युदण्ड दिने घोषणा गरेका छन् । पेन्टागनले डिसेम्बरमा लागु गरिने उक्त मृत्युदण्डको प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।
‘यस्ता कार्यको गम्भीर परिणाम हुन्छ भन्ने कुरा मानिसले बुझ्नुपर्छ’ रक्षामन्त्री हेगसेथले भने ।
यता, मृत्युदण्डबारे अध्ययन गर्दै आएका कोलोराडो विश्वविद्यालयका प्राध्यापक एमेरिटस माइकल राडेलेट उक्त खबर सुनेर स्तब्ध भए । ‘मैले अर्कोे सार्वजनिक मृत्युदण्डको कहिल्यै कल्पना गरेको थिइनँ’ उनले भने ।
मृत्युदण्डप्रति जनसमर्थन क्रमश: घट्दै गएको उनले दाबी गरे । उनका अनुसार सन् १९९४ मा यो समर्थन ८० प्रतिशत थियो, अहिले ५२ प्रतिशतमा झरेको छ ।
प्रत्यक्ष प्रसारण
गत वर्ष बेथियाको मृत्युदण्डबारे पुस्तक प्रकाशित गरेकी सोन्या लियाले जब फायरिङ स्क्वाड भनिने गोली प्रहार गरेर मृत्युदण्ड दिने प्रक्रियाको प्रत्यक्ष प्रसारण गरिने कुरा सुनिन्, उनले डरलाग्दो अवस्था आउने बताइन् ।
‘सन् १९३६ मा यसलाई क्रुरताको उत्सव भनिन्थ्यो’ उनले भनिन्– ‘ओवेन्सबोरो, केन्टकीमा प्रत्यक्ष हेर्न भेला भएका २० हजार मानिसभन्दा धेरैमाझ यसलाई पुर्याउन सक्ने प्रविधि अहिले हामीसँग हुनुले यसलाई अझ बढी भयावह बनाएको छ ।’
उनले यस्तो स्तरको विभत्स सजाय इरान, उत्तर कोरिया र अफगानिस्तानले मात्र अपनाउने गरेको बताइन् ।
उको भनाइ थियो– ‘के अब हामी अमेरिकाको रूपमा आफूलाई त्यस्तै प्रकारको सरकारको हिस्सा मान्दैछौँ ? यो साँच्चै भयावह कुरा हो ।’
किन यस्तो गरिँदैछ?
ओहायो स्टेट युनिभर्सिटीका सामाजिक मनोविज्ञानका प्राध्यापक कर्ट ग्रेका अनुसार अमेरिकी राजनीतिमा देखिएको ध्रुवीकरण र वाकयुद्धले यस्तो घोषणाका लागि पृष्ठभूमि तयार पारेको हुन सक्छ ।
‘केही अमेरिकीमा प्रतिशोध वा हिंसाको तीव्र चाहना हुन सक्छ तर मलाई लाग्छ, धेरैजसोमा त्यस्तो छैन बरु धेरै अमेरिकी यस्ता घटनाप्रति एक प्रकारले उदासिन वा असंवेदनशील भइसकेका छन्’ उनको भनाइ थियो ।
उनले विभिन्न अनुसन्धानको हवाला दिँदै मन्त्री हेगसेथ र प्रशासनले देशको वास्तविक अवस्थालाई गलत ढङ्गले बुझिरहेको दाबीसमेत गरे ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेस्थित भ्वाइलेन्स प्रिभेन्सन रिसर्च प्रोग्रामका निर्देशक गारेन विन्टेम्युटले सर्वेक्षणका तथ्याङ्कले अमेरिकामा प्रतिशोधपूर्ण कारबाहीको चाहना घट्दै गएको देखाएको उनी बताउँछन्।
‘मलाई लाग्छ, मुख्य कुरा यो हो– सार्वजनिक मृत्युदण्ड हाम्रो पहिचान होइन’ उनले थपे– ‘एउटा राष्ट्रका रूपमा हामी यस्तो बन्न चाहँदैनौँ ।’
ह्वाइट हाउसभित्रै बहस
शुक्रवार ह्वाइट हाउसभित्रै हेगसेथको अप्रत्याशित घोषणाबारे बहस चलेको बताइएको छ । उपराष्ट्रपति जेडी भान्सले पत्रकारसँग कुरा गर्दै सार्वजनिक रूपमा गरिने भनिएको मृत्युदण्डको कार्यान्वयन योजनाअनुसार अघि बढ्छ वा बढ्दैन भन्नेबारे अनिश्चितता व्यक्त गरे ।
उनले भने– ‘यो वास्तवमै हुन्छ भन्ने मलाई थाहा छैन । यदि यसको प्रत्यक्ष प्रसारण गरियो भने मैले त्यो हेर्ने छैनँ ।’
यता, राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफूले प्रत्यक्ष प्रसारणको योजनालाई पूर्ण रूपमा समर्थन गर्ने बताए तर पेन्टागनले यो विषय अझै निर्णय लिने प्रक्रियामा रहेको उल्लेख गरेको छ ।
ट्रम्पले भने– ‘मलाई लाग्छ, मृत्युदण्ड उनीजस्ता व्यक्तिका लागि एकदमै उपयुक्त सजाय हो ।’ (बिबिसी)





