काठमाडौँ । तीन हजारभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गर्दै भारतमा सन् १९७५–७७ को सङ्कटकाल बिर्साउने गरी सरकारी दमन भएको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै २०८३ असोज २४ गते तदनुसार अक्टोबर १०, २०२६ शनिवारका दिन सरकारले यस्तो दमन गरेको हो ।
गत सन् २०२४ को आम निर्वाचनमा करिब १३ करोड मतदाताको नाम हटाएर सत्तारूढ भारतीय जनता पार्टी गठबन्धनले चुनाव जितेको खुलासा गत सेप्टेमबर २३ का दिन अङ्ग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ ले गरेपछि निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै यतिखेर भारतभरि आन्दोलन चलिरहेको छ ।
गत अक्टोबर २ देखि सुरु भएको आन्दोलनमा मुख्यत: तीनोटा शक्तिहरू अगाडि आएका छन् । प्रमुख प्रतिपक्षी दल कङ्ग्रेस आइ नेतृत्वको इन्डिया गठबन्धन र कक्रोच जनता पार्टीले यो आन्दोलनको नेतृत्व गरिरहेका छन् । त्यस्तै अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) सहितका विद्यार्थी सङ्गठनले पनि आजको आन्दोलन गरेका आह्वान गरेका छन् । आज जन्तरमन्तरमा आह्वान गरिएको प्रदर्शनको नेतृत्व कक्रोच जनता पार्टीले गरेको छ ।
आन्दोलनकारीले विरोध प्रदर्शनका लागि नयाँदिल्लीमा छुट्याइएको जन्तरमन्तरमा प्रदर्शन गर्नका लागि अनुमति माग्दा सरकारले स्वीकृति दिएन । त्यति मात्रै होइन, सरकारले दिल्लीतर्फ आउने दुई सय ५० जति रेलरुट रद्द गरेको छ भने ४५ ओटा मेट्रोरुट पनि रद्द गरेको थियो ।
शनिवारका दिन यातायात अवरुद्ध गर्ने निर्णयका विरुद्ध परेको रिटको सम्बन्धमा शुक्रबार सरकारका विरुद्ध अदालतले आदेश दिएको थियो तर सरकारले त्यसको अवहेलना गरेको एकथरीले दाबी गरेका छन् । उनीहरूले सरकार विरुद्ध अवहेलना रिट दायर गर्ने तयारी गरिरहेको थाहा हुन आएको छ ।
शनिवार बिहानैदेखि प्रदर्शन विफल पार्न सरकारले दमनको तीव्र शृङ्खला चलाएको छ । बिहानै भारतीय युट्युबर धु्रव राठीलाई गुडगाँवबाट गिरफ्तार गरिएको थियो । त्यसको लगत्तै विमानभित्रै पुगेर भारतीय प्रहरीले कक्रोच जनता पार्टीका संस्थापक प्रमुख अभिजित दिपकेसहित अन्य नेताहरू आशुतोष राँका र सौरव दासलाई गिरफ्तार गरेको छ । त्यसको लगत्तै सोही पार्टी प्रमुख कानुनी सल्लाहकार रत्ना सिंह पनि गिरफ्तारीमा परेकी छिन् ।
प्रशासनले आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल, तृणमूल कङ्ग्रेसका प्रमुख ममता बनर्जी, आइसाकी अध्यक्ष नेहा बोरालगायतलाई पनि गिरफ्तार गरेको छ ।
आन्दोलनमा थुप्रै कानुन व्यवसायी पनि सहभागी भएका छन् । यस क्रममा वरिष्ठ अधिवक्ता सुमिता हजारिकासहित सय जना वकिल गिरफ्तारीमा परेको सर्वोच्च बार एसोसियनले दाबी गरेको छ ।
प्रशासनले मिडियामाथि पनि दमन गरेको छ । देशबन्धु टेलिभिजनका अनुसार न्यू लन्ड्री, स्क्रोल डट कम, नवभारत टाइम्सलगायतका विभिन्न मिडियाका पत्रकारलाई गिरफ्तार गरिएको छ । प्रहरीले मिडियालाई एक किलोमिटर टाढाबाट समाचार कभरेज गर्न निर्देश दिएको टेलिभिजनमै सुन्न सकिन्छ ।
यसैबिच, कक्रोच जनता पार्टीका नेता अजिङ्क्य शिन्देले भिडियो सन्देश जारी गर्दै सरकारी दमनको कडा प्रतिवाद गर्न आग्रह गरेका छन् ।
भिडियो सन्देशमा उनले भनेका छन्– ‘सरकारले जहाँ दमन गर्छ, त्यही विरोध गर्नुहोस् । सरकारी दमनको विरोधमा प्रत्येक ठाउँलाई जन्तरमन्तर बनाइदिऊँ ।’






