नयाँ दिल्ली। जेनजी नेतृत्वको कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार घोषणा गरेको विरोधप्रदर्शनलाई लक्षित गर्दै भारतको राजधानी दिल्लीका विभिन्न क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनको आह्वान गरिएको हो।
मतदाता नामावलीबाट ठूलो सङ्ख्यामा मतदाताको नाम हटाइएको आरोप सीजेपीले लगाएको छ। तर, निर्वाचन आयोगले उक्त आरोप अस्वीकार गरेको छ।
सीजेपीले आफ्ना संस्थापक अभिजित दीपकेसहित सौरभ दास र आशुतोष राङ्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रदर्शनका लागि अनुमति नदिइएको प्रहरीले बताइरहँदा पार्टीका नेताहरूले जन्तरमन्तर पुग्ने बताएका छन्।
प्रदर्शनअघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट सञ्चालन हुने २५० भन्दा बढी रेल सेवा रद्द गरिएका छन्। यस निर्णयको पूर्वरेलवे अधिकारी, यात्रु सङ्गठन र कर्मचारी युनियनहरूले आलोचना गरेका छन्। रेल सेवा रद्द हुँदा हजारौँ यात्रु प्रभावित हुने भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
त्यसैगरी, दिल्ली मेट्रो रेल कर्पोरेसनले ४५ वटा मेट्रो स्टेशनका प्रवेश तथा निकास बिन्दु बन्द गरिएको जनाएको छ। प्रदर्शनमा सहभागी हुन सीजेपीका नेताहरू, वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक तथा राजनीतिक कार्यकर्ता योगेन्द्र यादव र युट्युबर ध्रुव राठीसहित विभिन्न व्यक्तिले अपिल गरेका छन्।
सीजेपीका नेताहरूले निष्पक्ष निर्वाचनका लागि शान्तिपूर्ण सङ्घर्ष जारी राख्ने बताएका छन्।





