काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षा प्रयोजनका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ। साथै, संघीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी तीन विधेयक संघीय संसद्मा पेस गर्न अनुमति दिएको छ।
बैठकले सहसचिव आवास श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरी क्रमशः गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गरेको छ।
यसैबीच, प्रवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरिएको, सुरक्षा माग भएपछि उद्धार गरी सुरक्षित स्थानमा राखिएको दाबी गरे। उनले घरेलु खेलकुद लिग सञ्चालनको तयारी भइरहेको र देशका २७ स्थानमा खेल पूर्वाधार निर्माण अघि बढाइएको पनि जानकारी दिए।
