काठमाडौं, १३ असोज । लगातारको वर्षा र बाढीपहिरोका कारण चीनसँग जोडिएका तातोपानी, रसुवागढी र कोरला तीनवटै व्यापारिक नाका अवरुद्ध भएपछि नेपाल–चीन स्थल व्यापार ठप्प भएको छ। दसैं नजिकिँदै गर्दा आपूर्ति शृंखला प्रभावित बनेपछि व्यापारी तथा उपभोक्ता मारमा परेका छन्।
तातोपानी नाका पहिरोको जोखिमका कारण बन्द छ भने रसुवागढीमा बाढीले भौतिक संरचनामा क्षति पुर्याएको छ। कालीगण्डकीमा आएको बाढीले कोरला नाका जोड्ने सडक तथा पुलका पहुँचमार्गमा क्षति पुर्याएपछि मालवाहक सवारीसाधनको आवागमन रोकिएको छ।
आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालका अनुसार दसैंका लागि मगाइएका सामानमध्ये काठमाडौंमा २० देखि ३० प्रतिशत मात्रै आइपुगेका छन्। सडक अवरुद्ध हुँदा ढुवानी भाडा बढेकाले चीनबाट आउने सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म महँगिन सक्ने उनले बताए।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले नाका बन्द हुँदा व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको भन्दै पूर्वाधार सुधार तथा कूटनीतिक पहलमार्फत नाका सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरला नाकामा डेढ सयभन्दा बढी मालवाहक गाडी तथा कन्टेनर रोकिएका छन् भने यार्ड र नाकामा तीनदेखि चार सय विद्युतीय सवारीसाधन तथा खाली र भरिएका कन्टेनर थन्किएका छन्। सडक विभागले सडक मर्मतको काम गरिरहेको र बाटो खुलेपछि आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
