चितवन, १३ असोज । शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ । प्राविधिक टोली र हात्तीसहित त्यहाँ पुगेको चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को डिभिजन वन कार्यालयको टोलीले गैँडा ‘डार्ट’ गरेर ल्याउन लागेको हो ।
उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको लौघारीबाट दुईवटा हात्ती पुगेपछि डार्टको तयारी गरिएको छ । निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार अब डार्ट गरेर गैँडालाई ट्रकमा राखेर ल्याइँदैछ । झाडीमा रहेकाले उमेर र लिङ्ग पहिचान गर्न नसके पनि टाढाबाट प्राविधिकहरूले गैँडा अन्दाजी पाँच वर्षको पोथी रहेको जनाएका छन् ।
गैँडा नारायणी नदीले बगाएर सुस्ता गाउँपालिका–४ मा पुर्याएको हो । नारायणी नदीमा ठूलो बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको हो । अहिलेसम्म नदीले बगाएको गैँडा एउटाको मात्र सूचना आएको भए पनि नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुनसक्ने अनुमान छ ।
यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा ठूलो बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।
