प्रकाश थापा मगर
काठमाडौँ । “राष्ट्रियताको आन्दोलनमा प्रगतिशील साहित्यको भूमिका” विषयमा प्रगतिशील लेखक सङ्घ बागमती प्रदेश समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा महासचिव समीर सिंहको विशिष्ट आतिथ्यतामा २०७७ साउन ३१ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रलेसका सल्लाहकार तथा पूर्व अध्यक्ष मातृका पोख्रेलले प्रगतिशील साहित्यिक आन्दोलनमा राष्ट्रियता अत्यन्तै मुखर विषय रहेको बताउनुभयो । २००९ सालमा प्रलेसको स्थापना हुनुभन्दा पहिलेदेखि नै गोकुल जोशी, धर्मराज थापा, केवलपुरे किसान, लक्ष्मीप्रसाद देवकोटालगायतका ठुलो पङ्क्तिले राष्ट्रियताको आन्दोलनमा भूमिका खेलेको उहाँले बताउनुभयो । २००७ सालवरपर नेपालमा भारतीय विद्यालयका पाठयक्रम पढाइने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘त्यति बेला शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटा हुनुहुन्थ्यो, उहाँहरूसमेतको जोडबलले मन्त्रिपरिषद्बाटै निर्णय गराएर भारतीय पाठ्यक्रमको नेपालमा अध्यापनमाथि रोक लगाइएको थियो । २००७ सालको त्रिपक्षीय सम्झौता धोका हो भन्दै त्यतिखेरका प्रगतिशील साहित्यकारहरूले आफ्ना आवाज मुखर बनाएको बताउँदै उहाँले अहिलेको पिँढीमाझ ती सामग्री हस्तान्तरण तथा प्रचार प्रसार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्रलेसका अर्का सल्लाहकार डा. गोविन्द आचार्यले नेपालमा सत्ताधारीको कमजोरीकै कारण सीमा मिचिएको बताउनुभयो । सीमा अतिक्रमणलगायतका राष्ट्रियताको विषयमा प्रगतिशील साहित्यकारहरू प्रारम्भदेखि नै सक्रिय रहेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘वि.सं. १९९७ सेरोफेरोदेखि नै नेपाली प्रगतिशील साहित्यकारहरू राष्ट्रियताको आन्दोलनमा सरिक भएका थिए ।’ राष्ट्रियता भनेको विशुद्ध रूपमा भूभाग र सीमा मात्रै नभएको बताउँदै उहाँले त्यसको मुख्य सङ्घटक अङ्ग जनता भएको बताउनुभयो । ‘खासगरी तल्लो तहका किसान–मजदुर नै राष्ट्रियताको मेरुदण्ड हो’ उहाँले भन्नुभयो– ‘सत्ताधारीको भर परेर होइन, किसान–मजदुरको भर परेर नै नेपाली राष्ट्रियताको जगेर्ना हुन सक्छ ।’ उहाँले प्रगतिशील साहित्यकारलाई देशको माटो र श्रमको गुणगान गाउने साहित्यकर्ममा लाग्न अनुरोध पनि गर्नुभयो ।
वरिष्ठ साहित्यकार नर्मदेश्वरी सत्यालले लेखाइअनुसार व्यवहार नहुनु नेपाली प्रगतिशील साहित्यिक आन्दोलनको ठुलो विडम्बना रहेको बताउनुभयो । ‘१० वटा कुराहरू बोल्छन्, लेख्छन् भने दुई वटा मात्रै व्यवहारमा उतारिदिए पनि अर्थपूर्ण हुन्छ’ सत्यालले भन्नुभयो– ‘हामीकहाँ बोल्ने, लेख्ने, तर व्यवहारमा लागु गर्नुनपर्ने जुन व्यवहार देखिन्छ, त्यो आफ्नै लेखनवृत्तिको स्प्रिटसित मेल नखाने प्रवृत्ति हो ।’ उहाँले राष्ट्रियताको विषयमा जनतामा जागरणको अवस्था रहेको, तर सत्ताधारीमा प्रशस्त कमजोरी रहेको बताउँदै त्यसका विरुद्ध खबरदारी प्रगतिशील साहित्यकारले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको उत्तरार्धतिर प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै प्रलेका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले राष्ट्रियताको मुख्य तत्त्व जनता भएको बताउँदै जनतालाई सबल बनाउन प्रगतिशील साहित्यकर्मीहरू लाग्नुपर्ने बताउनुभयो । अर्कातर्फ, मुलुकलाई आत्मनिर्भर बनाउन पनि साहित्यकारले आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समयमा उत्तर आधुनिकतावादले जरो गाडेको बताउँदै वर्गलाई पृष्ठभूमिमा पारी जाति, धर्म र लिङ्गलाई एकतर्फी रूपमा जोड दिने सो प्रवृत्तिको भण्डाफोर आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालभित्रका प्रकृतिको गुणगान गर्नु भनेको पनि राष्ट्रियता पक्षधर काम हो भन्दै उहाँले उदाहरणका लागि सगरमाथाको गीत गाउँदा राष्ट्रियता मजबुत हुने दावी गर्नुभयो ।
महासचिव समीर सिंहले समेत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज पारस ढकालले राख्नुभएको थियो । कार्यक्रम प्रलेस बागमतीका अध्यक्ष जगत्प्रसाद रेग्मीको अध्यक्षता तथा सचिव भीम क्षेत्रको उद्घोषणमा सम्पन्न भएको थियो । सो अवसरमा अतिथि वक्ताहरूको मन्तव्यपश्चात् सहभागीका पूरक प्रश्नमाथि अन्तरक्रिया गरिएको थियो ।

