काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीका तर्फबाट विजयी भएका स्थानीय तहको अनुगमन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिबाटै नेताहरु खटाएर विभिन्न स्थानीय तहको अनुगमन गर्न लागिएको राजमो सचिव डम्बर पुरीले जानकारी दिनुभएको छ ।
सचिव पुरीका अनुसार राजमोको तर्फबाट जितेका स्थानीय प्रतिनिधिहरुले पार्टीको नीति र जनतासँगको सम्बन्धलाई कसरी अगाडि बढाएका छन् भन्ने विषयमा मूलयांकन गरिनेछ ।
शनिबार युगदर्शनसँग कुरा गर्दै सचिव पुरीले भननुभयो, ‘अहिले देशब्यापी रुपमा केन्द्रदेखि स्थानीय तहसम्म जनप्रतिनिधहरु प्रति जनताको ब्यापक असन्तुष्टि बढेको छ । भ्रष्टाचार र अनैतिक क्रियाकलापहरु बढेका छन् । जनचाहना विपरित स्थानीय तहका जनप्रतिनिधिहरु सुविधाभोगी भएका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित प्रतिनिधिहरु यस्ता गतिविधिबाट टाढै बस्नुपर्छ । उनीहरुले कसरी काम गरिरहेका छन् भनेर पार्टीले मूल्यांकन गर्न अनुगमन गर्न लागेको हो ।’
अनुगमनका क्रममा बजेट निर्माण कसरी गरिएको छ, बजेटको कार्यान्वयन कसरी भइरहेको छ, अनियमितता भएको वा स्थानीय जनताको गुनासो के छ, जनतासँग जनप्रतिनिधिहरुको सम्बन्ध कस्तो छ लगायतका विषयमा मूल्यांकन गरिने उहाँले जानकारी दिनुभयो ।
त्यसका लागि राजमोले विभिन्न स्थानमा केन्द्रबाटै नेताहरुलाई जिम्मेवारी दिएको छ । त्यस अनुसार बागलुङ जिल्लाको बरेड गाउँपालिका तथा गुग्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाका लागि नेता भैरव रेग्मी, प्यूठान जिल्लाको झिमरुक गाउँपालिका तथा मल्लरानी गाउँपालिकाका लागि राजमो कोषाध्यक्ष हिमलाल पुरी, स्वर्गद्वारी तथा ऐरावती गाउँपालिकाहरुका वडाहरुका लागि केन्द्रीय सदस्य मनोज भट्ट र अर्घाखाँची तथा नवलपुर जिल्लाहरुका वडाहरुका लागि सुरेश थापालाई जिम्मेवारी दिइएको राजमोले जनाएको छ।
सचिव पुरीका अनुसार राष्ट्रिय जनमोर्चाले जितेका वा प्रतिनिधित्व गरेका गाउँपालिका, नगरपालिका तथा जिल्लाको कार्यको मूल्यांकन र अनुगमन गरी नेताहरुले दिएको प्रतिवेदनका आधारमा पार्टीले सम्बन्धित जनप्रतिनिधि र स्थानीय तहबारे निर्णय गर्नेछ ।
राजमोको स्वच्छ तथा निश्कलंक छविका कारण जनताको विश्वास जितेको सन्दर्भमा कहिँ कतैबाट कमजोरी भएको देखिए त्यसलाई तत्काल सुधार गर्ने पुरीले बताउनुभयो ।
यो पनिः राष्ट्रिय जनमोर्चाका नेताहरुको जिम्मेवारी हेरफेर

