गोविन्दकुमार शर्मा, विदुर (नुवाकोट) ।
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले विदुर नगरपालिका–१ ढुङ्गे, भैँसेलगायतका क्षेत्रमा ठुलो क्षति पुर्याएपछि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह नेतृत्वको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
२०८३ भदौ २४ गते बुधबार सो टोली प्रभावित क्षेत्र विदुर नगरपालिका पुगेको हो ।

टोलीले बाढी प्रभावित बस्ती, नदीकटान क्षेत्र, क्षतिग्रस्त विद्यालय, सडक तथा पुलको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको थियो ।
महामन्त्री सिंहसहितको टोलीले त्रिशूली बजार र त्रिभुवन त्रिशूली माविलगायतका क्षतिग्रस्त संरचनाको अवलोकन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले बाढीप्रभावित स्थानीयले भोग्नुपरेका समस्या, भौतिक क्षति र आवश्यक राहतका विषयमा छलफल पनि गरेको थियो ।

टोलीमा महामन्त्री सिंहसहित राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, केन्द्रीय सल्लाहकार आनन्दराज शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, राजमो नेता वासु पोख्रेललगायतको सहभागिता रहेको थियो ।

निरीक्षणपछि टोलीले बाढीका कारण विस्थापित तथा प्रभावित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना, सडक, पुल र विद्यालयको पुनर्निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने राजमो कावा अध्यक्ष नेपालीले युगदर्शनलाई बताउनुभयो ।










