काठमाडौं, २१ भदौ । रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल तथा पहाडी क्षेत्रमा विस्तार गरिएको छ ।
बाढीबाट जोगिन आयोजनास्थलबाट भागेर जंगलमा पुगेका वा चोटपटकका कारण हिँड्न नसकी कतै अड्किएका हुन सक्ने आशंकामा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष रक क्लाइम्बर टोली परिचालन गरिएको कम्पनीले जनाएको छ । हिमालय समिट क्लब प्रालिको ८ सदस्यीय टोलीले घट्टेखोला क्याम्प तथा आसपासका जंगल क्षेत्रमा खोजी गरिरहेको छ ।
यसअघि नेपाली सेनाको उद्धार टोलीले हेलिकप्टरमार्फत आयोजनास्थल पुगेर विद्युत्गृहभित्र समेत खोजी गरेको थियो । तर, कन्ट्रोल रुमसहित विद्युत्गृहका अधिकांश भाग हिलो, लेदो तथा भग्नावशेषले पुरिएको अवस्थामा रहे पनि सम्पर्कविहीनमध्ये कोही फेला परेका छैनन् ।
कम्पनीका अनुसार बाढीका कारण ९३ जना अझै सम्पर्कविहीन छन् भने ७ जनाको यसअघि नै उद्धार भइसकेको छ ।