काठमाडौं – रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि नेपाललाई विभिन्न देश तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट राहत तथा आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ।
भारतले पाँच चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ भने चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री प्रदान गरेको छ। पाकिस्तानबाट ८६ टन, यूएईबाट ८३ टन र कतारबाट ४० टन राहत सामग्री प्राप्त हुँदैछ।
त्यस्तै, अमेरिका, अष्ट्रेलिया, श्रीलङ्का, यूके, युरोपेली संघ, स्विट्जरल्याण्ड, जर्मनी, नर्वे लगायतका देश तथा संस्थाले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन्। चीनसँग प्रभावित क्षेत्रमा प्रयोग गर्न ३० वटा बेलीब्रिज सहयोग गर्न नेपाल सरकारले अनुरोध गरेको छ।
फ्रान्सले २०० घरपरिवारका लागि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ भने अन्य विभिन्न देशले पनि राहत सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

