काठमाडौँ । रसुवा बाढीपछि त्रिशूली नदीले बहाव परिवर्तन गरेको छ । नेपाल भौगर्भिक समाज (एनजिएस) ले गरेको अध्ययनमा सो अवस्था देखा परेको हो ।
२०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोसीमा आएको बाढीपछि संस्थाका अध्यक्ष भाष्कर खतिवडासहितको प्राविधिक टोलीले नुवाकोटको देविघाटदेखि धादिङको कृष्णभिरसम्मको बाढी प्रभावित क्षेत्रमा अध्ययन गरेको थियो ।
टोलीको प्रारम्भिक प्राविधिक अध्ययनमा त्रिशूली नदीले आफ्नो बाढीको बगरभित्र बहावको दिशा उल्लेख्य रूपमा परिवर्तन गरेको पाइएको जनाएको छ ।
बाढीअघि रहेको नदीको भौगोलिक तथा भूआकृतिक संरचना कतिपय स्थानमा स्पष्ट रूपमा पहिचान गर्न नसकिने अवस्थामा पुगेको र नयाँ ठाउँमा गेग्रान तथा माटो थुप्रिएको टोलीको निष्कर्ष छ ।
देविघाट क्षेत्रका केही स्थानमा १० मिटरभन्दा बढी गेग्रान थुप्रिएको छ भने महादेव फाँटभन्दा माथिका कृषि जमिनसमेत ठुलो मात्रामा बाढीले ल्याएको गेग्रानले पुरिएको पाइएको छ ।
बाढीपछि नदीको बहाव परिवर्तन हुनुका साथै नयाँ गेग्रान थुप्रिएकाले त्रिशूली नदी करिडोर आसपासका क्षेत्र अझै जोखिममा रहेको एनजिएसले जनाएको छ । विशेषगरी तल्लो तटीय क्षेत्रमा रहेका राजमार्ग तथा कृषि जमिनमा जोखिम कायम रहेको प्रारम्भिक अध्ययनले देखाएको हो ।
प्राविधिक टोलीले नदीको किनार तथा पिँधतर्फ थप कटान हुन सक्ने सम्भावनासमेत औँल्याएको छ । नदीले किनारको तल्लो भाग काट्दै जाँदा थप भूक्षय र अन्य जोखिम निम्तिन सक्ने भएकाले आगामी दिनमा निरन्तर निगरानी आवश्यक रहेको समाजले जनाएको छ।
खतिवडाका अनुसार नदीको परिवर्तन भएको बहाव, थुप्रिएको गेग्रान र कटानको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन आवश्यक छ ।
स्थलगत अध्ययनबाट प्राप्त विवरणलाई समेटेर सम्बन्धित सरकारी निकायलाई शीघ्र प्राविधिक प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।
बाढीपछि उद्धार, जोखिम न्यूनीकरण तथा पुन:स्थापनाका लागि आवश्यक निर्णय लिन प्रतिवेदन सहयोगी हुने एनजिएसले अपेक्षा गरेको छ ।
नेपाल भौगर्भिक समाजले बिपद्को यस कठिन अवस्थामा सम्बन्धित निकायलाई आवश्यक भौगर्भिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ ।

