काठमाडौँ । बाढी प्रभावित रसुवामा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन दक्षिण कोरियाले ५ वटा खोजी कुकुरसहित ४४ सदस्यीय दक्ष विपद् उद्धार टोली नेपाल पठाउने भएको छ।
कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) अन्तर्गतको टोलीले नेपाली अधिकारीसँग समन्वय गर्दै करिब १० दिन खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ। टोलीले रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९ जना दक्षिण कोरियाली नागरिकको खोजीलाई प्राथमिकता दिनेछ।
टोलीमा दक्षिण कोरियाली विदेश मन्त्रालयका अधिकारी, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) र राष्ट्रिय अग्नि नियन्त्रक निकायका गरी ४४ जना रहनेछन्। आवश्यकताअनुसार हेलिकोप्टर, ड्रोन र हवाई खोजीसमेत प्रयोग गरिने तयारी छ।
यसअघि चिनियाँ उद्धार टोलीले आयोजनाको सुरुङभित्र करिब ३०० मिटर प्रवेश गरी खोजी गर्दा एक शव फेला पारेको थियो। शवको पहिचान भने हुन बाँकी छ।
उता, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीपछि विभिन्न विद्युत् आयोजनाबाट ५७३ जना अझै सम्पर्कविहीन छन् भने ८७३ जनाको उद्धार तथा सम्पर्क भइसकेको छ। माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको जनाइएको छ।
दक्षिण कोरियाले उद्धार टोलीसँगै नेपालमा बाढीपीडितका लागि १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा पनि गरिसकेको छ।
