भालुबाङ, भदौ १५ । राप्ती गाउँपालिका–१, भालुबाङस्थित श्री खड्केश्वरी तथा शिवालय मन्दिर संरक्षण समितिको साधारण सभा आइतबार सम्पन्न भएको छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष पदमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि तथा राप्ती गाउँपालिका–१ का वडाध्यक्ष गेमबहादुर खड्काले गर्नुभएको थियो।
साधारण सभामा हनुमानगढी टोल समितिका अध्यक्ष मोहनबहादुर जि.सी., हनुमानगढी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष रोमबहादुर बिष्ट, समाजसेवी तिलकबहादुर खड्का, टेकवीर रिजाल, संस्थापक सदस्य सरिता के.सी., पूर्वभारतीय सेनाबाट अवकाशप्राप्त तथा वरिष्ठ समाजसेवी बासुदेव पुनलगायतले साधारण सभा सफलताको शुभकामना दिनुभएको थियो।
सभामा संस्थाका सचिव दानबहादुर के.सी.ले गत आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। साधारण सभाले गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण गर्ने निर्णय गरेको छ। सोपश्चात् महालेखापरीक्षण (मलेप) गराउन बीजी एन्ड कम्पनी, प्युठान–दर्भानलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, साधारण सभाले मन्दिरमा विगतमा झैँ नृत्य, पूजा तथा आराधना सञ्चालन गर्ने, मन्दिर परिसरलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाउने निर्णय गरेको छ। साथै, निकट भविष्यमा पार्क निर्माण, प्रवेशद्वार निर्माण, अधुरो पक्की सिँढी निर्माणलगायतका कार्य अघि बढाउन पहल गर्ने निर्णयसमेत गरेको सचिव दानबहादुर के.सी.ले जानकारी दिनुभयो ।

