सुर्खेत, १४ भदौ । २०७१ सालको बाढीपहिरोबाट विस्थापित सुर्खेतका करिब १२५ परिवार अझै स्थायी पुनर्स्थापनाको पर्खाइमा छन्। बराहताल गाउँपालिका–२ स्थित गिरीघाटको अस्थायी बस्तीमा बस्दै आएका उनीहरू १२ वर्षदेखि त्रिपाल र टहरामै जीवन बिताइरहेका छन्।
२०७१ साल साउनमा आएको बाढीपहिरोले घरजग्गा गुमाएपछि गिरीघाटमा ३८५ घरधुरीको अस्थायी बस्ती बसाइएको थियो। केही परिवारले सरकारी सहयोग पाएर पुनर्वास पाए पनि ठूलो संख्या अझै अस्थायी बस्तीमै रहेको छ।
पीडितहरूले सुरक्षित आवाससँगै रोजगारी, शिक्षा र स्वास्थ्यको समस्या झेल्दै आएका छन्। वर्षायाममा जीर्ण टहराबाट पानी चुहिने र बाढीपहिरोको जोखिम बढ्ने उनीहरूको गुनासो छ। “सत्ता फेरिए पनि हाम्रो दैनिकी फेरिएन,” स्थानीय खगिसरा कामीले बताइन्।
भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्या पनि कर्णालीमा जटिल छ। तथ्यांकअनुसार कर्णालीमा ५७ हजार ३०० परिवार भूमि समस्यासँग सम्बन्धित सूचीमा छन्, जसमध्ये ५२ हजार ५५३ परिवार अव्यवस्थित बसोबास गर्ने छन्।
बाढी गएको १२ वर्ष बितिसक्दा पनि स्थायी पुनर्स्थापना हुन नसक्नु राज्यको विपद् व्यवस्थापनप्रति गम्भीर प्रश्न बनेको छ। पीडितहरूले अब राहतभन्दा सुरक्षित स्थानमा स्थायी आवास, रोजगारी र आधारभूत सेवासहितको दीर्घकालीन पुनर्स्थापना माग गरेका छन्।

