काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघले रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेको छ।
महासंघका अनुसार बाढीबाट बस्ती, सडक, पुल, व्यवसायिक प्रतिष्ठान, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। कतिपय नागरिक तथा सुरक्षाकर्मी सम्पर्कविहीन रहेकाले खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिन महासंघले आग्रह गरेको छ।
प्रभावितलाई खाद्यान्न, औषधि, कपडा र अस्थायी आवासलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन तथा नदी किनारका बस्तीमा पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउन पनि महासंघले माग गरेको छ।
महासंघले राहत तथा पुनःस्थापनामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह गर्दै प्रभावित क्षेत्रमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

